वन क्षेत्रको टेम्पो भिरबाट खसालेको घटनामा डिभिजन वनको स्पष्टीकरण

कैलाली, ३१ जेठ । कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे वन क्षेत्रमा वन कर्मचारीले टेम्पो भिरबाट खसालेको भिडायाे सार्वजनिक भएको विषयमा डिभिजन वन कार्यालय कैलालीले स्पष्टीकरण दिएको छ। कार्यालयले आज पत्रकार सम्मेलन आयोजना गरी वनका कर्मचारीले जानाजानी वा रिसइबीका कारण टेम्पो भिरबाट नखसालेको दाबी गरेको हो।

कार्यालयका वरिष्ठ डिभिजनल वन अधिकृत डा. रामविचारी ठाकुरका अनुसार गाईमारे क्षेत्र चुरे संरक्षणका दृष्टिले अत्यन्त संवेदनशील वन क्षेत्र हो। यस संवेदनशील चुरे क्षेत्रमा गैरकानुनी रूपमा खोका-टहरा निर्माण गरी वन अतिक्रमण गर्ने कार्य भइरहेकाले यसलाई नियन्त्रण गर्न नियमित रूपमा अभियान सञ्चालन हुँदै आएको छ।

“पाँच महिनाअघि सो क्षेत्रमा पुनः निर्माण गरिएका अवैध टहराहरू हटाउन एक महिनाअघि नै निर्देशन दिइएको थियो,” डा. ठाकुरले भन्नुभयो, “केही टहराहरू हटाइए पनि स्थानीय घनश्याम धामीले कवाडी टेम्पोलाई टहरा र पसलका रूपमा प्रयोग गर्दै आएकोमा सो हटाउन पटक-पटक अटेर गरिएको थियो।”

यसअघि पनि वन कर्मचारीले उक्त टेम्पोलाई धकेलेर सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याइदिएको भए पनि पछि पुनः वन क्षेत्रमै ल्याई पसल सञ्चालन गरिएको कार्यालयको दाबी छ।

गत जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियानका क्रममा सम्बन्धित व्यक्तिले टेम्पो हटाउन अस्वीकार गर्दै गालीगलौज गरेपछि वन कार्यालयको टोलीले हटाउने प्रयास गरेको थियो। सो क्रममा इन्जिन र पाङ्ग्रा पूर्ण रूपमा बिग्रिएको र गुड्न नसक्ने अवस्थामा रहेको उक्त टेम्पोलाई सार्ने क्रममा भिरालो भू-बनोटका कारण अनियन्त्रित भई दुर्घटनावश भिरबाट खसेको वन कार्यालयले स्पष्ट पारेको छ। विज्ञप्तिमा सामाजिक सञ्जालमा वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेको भन्दै फैलाइएका सूचना भ्रामक भएको पनि दाबी गरिएको छ।

उक्त घटनापछि टेम्पो सञ्चालक पक्षले भने वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेर नष्ट गर्ने कार्य गरेकाे हुँदा आफ्नो जीविकोपार्जनको आधार पनि नष्ट भएकाे भन्दै न्यायको माग गरिरहेका छन्।