काठमाडौं महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गर्ने

काठमाडौं, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले युवा केन्द्रित स्वरोजगार कार्यक्रम, उद्यमशीलता विकास तथा रोजगारी सिर्जना गर्ने उद्धेश्यले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम यो उल्लेख गरेको हो ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, दलित, संरक्षणविहिन व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, एकल महिला, शहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री शसक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ,’ नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘एक वडा एक नमूना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमूना कार्यक्रमलाई संस्थागत गरिनेछ।

ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निःशुल्क उपलब्ध गराईनेछ। ७५ बर्ष उमेर पुरा भएका बरिष्ठ ज्येष्ठ नागरिकहरु तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ।’

त्यसैगरी महानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौँको घोषणालाई साझेदार निकायहरुको समन्वय र सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी ‘मानवीयताको शहर’ भन्ने मूल सन्देशलाई कार्यान्वयन गर्ने, काठमाडौँ महानगरपालिकाले आधुनिक तथा पराम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र जारी गर्ने प्रबन्ध गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘महानगरक्षेत्रका टोल, विद्यालय, पार्क र समुदायमा चरा चुरुङ्गीमैत्री अभ्यासहरू सञ्चालन गर्दै चरा चुरुङ्गीहरूका लागि पानी उपलब्ध गराउन पानी पात्र स्थापना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘सम्मानित राष्ट्रिय व्यक्ति र नवयुवा पुस्ता ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्‍चालन गरिनेछ। नवयुवा पुस्तालाई सुशासनका संवाहक मानी उनीरुको सुझाव तथा आवश्यकतामा सहकार्य गरिनेछ।’