कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना : तराईमा गर्मी कायमै

काठमाडौँ, असार १ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र पूर्वी वायुको मिश्रित प्रभाव देखिएको छ । यसका कारण देशको मौसममा बदली आउनुका साथै केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेश र बागमतीका तराई क्षेत्रमा पनि बादल लागेको छ भने बाँकी भागमा मौसम सफा छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको पूर्वानुमान

पहाडी र हिमाली क्षेत्र : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

तराई क्षेत्र : कोशी र मधेश प्रदेशका थोरै स्थानमा वर्षा हुनसक्ने अनुमान छ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा भने मौसम सफा रहने र गर्मी बढ्ने (तातो दिन) देखिएको छ।

रातिको पूर्वानुमान
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ  । कोशी प्रदेशका पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना कायमै छ भने बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने राति पनि मौसम सफा रहनेछ ।

मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै तराईका जिल्लाहरूमा बढ्दो गर्मीबाट बच्न पनि सुझाव दिइएको छ ।