अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट
एजेन्सी, १ असार । अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको पाकिस्तानले सम्झौताको घोषणा गरेलगत्तै एसियाली बजारको प्रारम्भिक कारोबारमै इन्धनको मूल्य ओरालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य मापन गर्ने प्रमुख सूचक ‘ब्रेन्ट क्रुड’ ३.८ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.०२ अमेरिकी डलरमा झरेको छ। यस्तै, अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटिआई) कच्चा तेलको मूल्य पनि ४.१ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ८१.४० डलर कायम भएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफका अनुसार आगामी जुन १९ मा स्विट्जरल्यान्डमा यस सम्झौताको औपचारिक हस्ताक्षर समारोह आयोजना गरिनेछ। सम्झौताको पुष्टि गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा अब ‘तेलको प्रवाह सुचारु हुने’ र रणनीतिक महत्त्वको जलमार्ग ‘होर्मुज जलसन्धि’ पुनः खुला हुने उल्लेख गर्नुभएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो जलमार्ग पूर्ण रूपमा बन्द प्रायः थियो। विश्वको कुल कच्चा तेल र तरल प्राकृतिक ग्यासको करिब २० प्रतिशत आपूर्ति यही मार्ग भएर हुने गर्दछ। इरानले सो क्षेत्रबाट आवतजावत गर्ने मालवाहक जहाजहरूमाथि नियन्त्रण तथा आक्रमण गर्ने चेतावनी दिएपछि विश्वव्यापी इन्धन आपूर्ति प्रभावित भएको थियो।
अमेरिका–इरान द्वन्द्वका कारण विगत केही महिनादेखि विश्व ऊर्जा बजारमा तीव्र उतारचढाव आइरहेको थियो। द्वन्द्व सुरु हुनुअघि प्रतिब्यारेल ७० डलरको आसपासमा रहेको ब्रेन्ट क्रुडको मूल्य तनाव उत्कर्षमा पुग्दा प्रतिब्यारेल १२० डलरसम्म पुगेको थियो। सम्झौताको यस पछिल्लो खबरले ऊर्जा संकटको सामना गरिरहेको विश्व बजारलाई ठूलो राहत दिएको विश्लेषकहरूले बताएका छन्।