बर्खा सुरु भएसँगै बुकीपाटन उक्लिन थाले बागलुङका गोठाला

बागलुङ, १ असार । काँधमा खाद्यान्नको ठूलो भारी, हातमा लौरो र अघि-अघि सयौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीको लस्कर। मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकखण्डमा अचेल यस्तै दृश्यहरू देखिन थालेका छन्। बर्खायाम सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक कृषकहरू आफ्ना वस्तुभाउ लिएर लेकका खर्क र बुकीपाटनतर्फ उक्लिन थालेका हुन्।

गत असोजमा बेँसी (गाउँ) झरेका गोठालाहरू असोजसम्म पुग्ने खाद्यान्न र आवश्यक लत्ताकपडा बोकेर पुनः बुकीपाटन उक्लिएका हुन्। पश्चिम बागलुङका निसीखोला, ढोरपाटन, तमानखोला र गलकोट क्षेत्रका कृषकहरू पुस्तौँदेखि लेक-बेँसी गर्दै पशुपालन व्यवसाय चलाउँदै आएका छन्। एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस नपुग्ने भएकाले उनीहरू मौसमी अनुकूलता हेरेर लेक-बेँसी गर्ने गर्छन्।

समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्म फैलिएका चरन क्षेत्रहरूमा पर्याप्त र पोषिलो घाँस पाइने भएकाले गोठालाहरू बर्खाभरि उतै बस्ने गर्छन्। लेकमा सञ्चार र विद्युत् सुविधा नहुँदा उनीहरू लामो समय परिवारसँग सम्पर्कविहीन हुन्छन्। आकस्मिक घटना वा बिरामी परेमा मात्र उनीहरू बीचमा बेँसी झर्ने गर्छन्।

गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला तथा ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा र स्यार्चुङ लगायतका अग्ला पहाडी क्षेत्रमा पुग्ने गर्छन्। ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्रै नभई छिमेकी जिल्लाहरू रोल्पा, रुकुम, म्याग्दी र डोल्पाका भेडापालक कृषकहरूसमेत चरनका लागि आउने गर्छन्।

बेँसीमा खेतीपाती सकेर लेक उक्लिन लाग्नुभएका निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगर अब दसैँ मनाउनका लागि मात्रै गाउँ फर्कनुहुनेछ। “बेँसीमा गर्मी हुन्छ र वस्तुभाउलाई घाँस पनि पुग्दैन। लेकमा यतिबेला शीतल छ र घाँस पनि पलाइसकेकाले चराउन सजिलो हुन्छ,” उहाँले भन्नुभयो।

यस्तै, तमानखोला–५ का शेरबहादुर सिर्पालीले घरमा बाली लगाउन ढिला भएकाले यसपालि लेक जान केही दिन ढिला भएको बताउनुभयो। लेकमा रहँदा उनीहरूले पशुपालन मात्र नभई फुर्सदको समयमा काठका भाँडाकुँडा र निगालोका सामग्री बनाएर बेँसी झरेपछि बिक्री गर्ने गर्छन्।

जेठ तेस्रो साता नै बुकीपाटन पुगिसक्नुभएका ढोरपाटन नगरपालिका–६ का पुनराम अदैले यस पेसामा आफूहरूले तीन-चार दशक बिताइसकेको सुनाउनुभयो। “हाम्रो जीवन यही वस्तुभाउको रेखदेखमै बित्यो,” उहाँले भन्नुभयो, “असार सुरु भएसँगै बुकीपाटन गोठाला र वस्तुभाउले भरिभराउ हुन थालेको छ। अब असोज लागेपछि मात्रै हामी बेँसी झर्नेछौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *