कर्णाली प्रदेशमा आगामी वर्ष १२२ वटा झोलुङ्गे पुल निर्माण गरिने, तुइन विस्थापनका लागि ६५ करोड विनियोजन
सुर्खेत, ३ असार । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा प्रदेशभित्र १२२ वटा झोलुङ्गे पुल निर्माण गर्ने भएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले असुरक्षित रूपमा रहेका तुइनहरू विस्थापन गरी सुरक्षित आवागमन सुनिश्चित गर्न यो योजना अघि सारेको हो।
मन्त्रालयले प्रदेशभरका तुइनहरूलाई पूर्ण रूपमा विस्थापित गरी सो स्थानमा झोलुङ्गे पुल निर्माण गर्न ६५ करोड रुपैयाँ विनियोजन गरेको छ। यसका साथै, प्रदेशका रणनीतिक सडक आयोजनाहरूको स्तरोन्नति र निर्माण कार्यका लागि पनि छुट्टै ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले प्रदेशका विकट एवं पर्यटकीय क्षेत्रहरूमा सडक र पुल सञ्जालको पहुँच विस्तार गर्ने नीति अनुरूप यो बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो। यस योजनाको प्रभावकारी कार्यान्वयनबाट दुर्गम बस्तीहरू मुख्य सडक सञ्जालसँग जोडिने र स्थानीय पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास मन्त्रालयले लिएको छ।