असारभित्रै प्रदेश सञ्चार प्रतिष्ठान गठन हुने : मुख्यमन्त्री कार्की

काठमाडौँ, असार ३ ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन प्रक्रियालाई चाँडै टुङ्ग्याइने बताउनुभएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले चालू असार महिनाभित्रै प्रतिष्ठानका पदाधिकारी नियुक्ति गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले लोककल्याणकारी विज्ञापनसम्बन्धी व्यवस्थालाई अझ व्यवस्थित र प्रभावकारी बनाउने समेत बताउनुभयो। सरकारी विज्ञापन र सूचनाहरू सबै सञ्चारमाध्यमले समान रूपमा पाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले यस विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउन पत्रकार महासङ्घलाई सुझाव दिनुभयो ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र कोशी प्रदेश अध्यक्ष भरत खड्काले सरकारी सूचना र विज्ञापनमा सबै प्रकारका सञ्चारमाध्यमको पहुँच सुनिश्चित हुनुपर्ने माग राख्नुभएको थियो ।