बक्यौता नतिर्ने ६३ उद्योगको बिजुली र पानीको लाइन काटियो, पहिलो दिनमै १० करोड असुल
काठमाडौँ, ४ असार । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि जग्गा भाडा र सेवा महसुल नतिर्ने ६३ वटा उद्योगहरूको विद्युत् तथा खानेपानीको लाइन काटेको छ। लिमिटेडले बुधबारदेखि देशका विभिन्न १० वटा औद्योगिक क्षेत्रमा बक्यौता भुक्तानी गर्न आनाकानी गर्ने उद्योगहरूमाथि कडा कदम चाल्दै लाइन काट्न सुरु गरेको हो।
कारबाहीको पहिलो दिनमै दबाबमा परेका उद्योगहरूबाट करिब १० करोड रुपैयाँ बक्यौता रकम असुल भएको लिमिटेडले जनाएको छ। लाइन काटिनेमा सबैभन्दा बढी बालाजु औद्योगिक क्षेत्रका २४ वटा उद्योग रहेका छन्। जसमा बालाजु अटो वक्र्स, गुराँस इन्जिनियर्स, आरके प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप र पूजा इन्टरनेसनल लगायत छन्।
यसैगरी हेटौँडा औद्योगिक क्षेत्रका १३ वटा उद्योग (प्रतिक उडान ट्रिटमेन्ट, सहयात्री जिप, फेसन पेन्ट्स आदि), पाटन औद्योगिक क्षेत्रका ७ वटा उद्योग (बिल्डिङ मटेरियल्स, नेप्लिज ह्यान्डिक्राफ्ट आदि) र पोखरा औद्योगिक क्षेत्रका ५ वटा उद्योगहरूको लाइन काटिएको छ। यसबाहेक बुटवल र भक्तपुरका ४/४ वटा, नेपालगञ्जका ३, धरानका २ र राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको १ उद्योग यस कारबाहीमा परेका छन्।
लाइन काटिएलगत्तै बक्यौता बुझाउन आएका ८ वटा उद्योगहरूको लाइन भने लिमिटेडले तत्कालै पुनः जडान गरिदिएको छ। पुनः जडान हुनेहरूमा बालाजुका चार (बालाजु अटो वक्र्स, आरके प्लास्टिक, एटलस पेट प्लस, नेपाल पोली पाइप), पाटनका दुई (भैरवनाथ आइरन, अनुज मेटल), पोखराको पोखरा कपास र नेपालगञ्जको भेरी प्राविधिक शिक्षालय रहेका छन्।
८ वटाको लाइन पुनः जोडिएसँगै हाल ५५ वटा उद्योगहरू पूर्ण रूपमा बन्द अवस्थामा छन्। लिमिटेडले बक्यौता असुल नभएसम्म बिहीबार पनि लाइन काट्ने कार्यलाई निरन्तरता दिइने स्पष्ट पारेको छ।