राष्ट्रियसभा बैठक आज बस्दै, बजेट आश्रित विधेयक टेबल गरिने, विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफल हुने

काठमाडौँ, १९ असार । सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज शुक्रबार अपराह्न १ः१५ बजे बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई प्राप्त भएका आर्थिक तथा बजेट आश्रित विधेयकहरू सभासमक्ष टेबल गरिने र विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ।

संसद् सचिवालयका अनुसार बैठकको प्रारम्भमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट पारित भई प्राप्त भएको “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धी सन्देश सभासमक्ष टेबल गर्नुहुनेछ।

त्यसलगत्तै बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल सुरु हुनेछ। आज छलफल हुने मन्त्रालयहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; कृषि, वन तथा पर्यावरण मन्त्रालय; पूर्वाधार विकास मन्त्रालय; गृह मन्त्रालय; ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय; परराष्ट्र मन्त्रालय; अर्थ मन्त्रालय र रक्षा मन्त्रालय रहेका छन्।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका लागि विनियोजित बजेट शीर्षकहरूमाथि पनि आजको बैठकमा सांसदहरूले आ-आफ्नो धारणा र सुझाव राख्ने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।