ओलिसेको पहेँलो कार्डविरुद्ध फ्रान्सको अपील खारेज: मोरक्कोविरुद्धको खेलमा ‘सस्पेन्सन’ को डर

 

फक्सबरो (एजेन्सी)।  फिफा विश्वकपको अन्तिम १६ मा पाराग्वेविरुद्धको खेलमा माइकल ओलिसेले पाएको पहेँलो कार्ड रद्द गर्न फ्रान्सले दिएको निवेदन विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ ।

बुधबार फक्सबरोमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै फ्रान्सेली टोलीका मुख्य प्रशिक्षक डिडियर देशच्याम्प्सले फिफाको निर्णयबारे जानकारी दिएका हुन् । “पहेँलो कार्ड यथावत छ। फिफाले आज बिहान हामीलाई यसबारे जानकारी गराएको छ,” मोरक्कोविरुद्धको क्वाटरफाइनल खेलको पूर्वसन्ध्यामा देशच्याम्प्सले भने ।

ओलिसे ‘डेन्जर जोन’ मा
प्रतियोगितामा उत्कृष्ट लयमा रहेका बायर्न म्युनिखका स्टार ओलिसेलाई पाराग्वेविरुद्धको तनावपूर्ण खेलको अन्तिम समयमा पहेँलो कार्ड देखाइएको थियो । पाराग्वेका माटियास गालार्जासँगको भनाभनपछि ओलिसेले आफ्नो मुखमा औंला राखेर ‘चुप लाग्न’ संकेत गरेका थिए, तर गालार्जाले आफूलाई अनुहारमा प्रहार गरिएको भन्दै मैदानमा लडेर अभिनय गरेका थिए । भिडियो रिप्लेमा खासै ठूलो सम्पर्क नदेखिए पनि रेफ्रीले ओलिसेलाई कार्ड दिएका थिए ।

फिफाले कार्ड कायम राख्ने निर्णय गरेसँगै ओलिसे अब ‘डेन्जर जोन’ मा परेका छन् । यदि मोरक्कोविरुद्धको क्वाटरफाइनलमा उनले पुनः पहेँलो कार्ड पाएमा, फ्रान्स सेमिफाइनल पुगेको खण्डमा उनले स्पेन वा बेल्जियमविरुद्धको महत्वपूर्ण खेल गुमाउनेछन् । ओलिसेसँगै ब्राड्ली बारकोला र मानु कोने पनि प्रतिबन्धको जोखिममा रहेका छन् ।

चुआमेनीको पुनरागमन र रेफ्री विवाद
प्रशिक्षक देशच्याम्प्सका अनुसार चोटका कारण पाराग्वेविरुद्धको खेल गुमाएका मिडफिल्डर ओरेलियान चुआमेनी निको हुँदैछन् । “ओरेलियानको अवस्था सुधारोन्मुख छ। उनले आजको प्रशिक्षणमा भाग लिन सक्छन्,” देशच्याम्प्सले बताए ।

यसैबीच, मोरक्कोविरुद्धको खेलका लागि अर्जेन्टिनी रेफ्री फाकुन्डो टेलोलाई नियुक्त गरिएको विषयमा देशच्याम्प्सले कुनै विवाद गर्न चाहेनन् । सन् २०२२ को विश्वकप फाइनलपछि फ्रान्स र अर्जेन्टिनाबीच फुटबलमा कडा प्रतिद्वन्द्विता रहँदै आएको छ । देशच्याम्प्सले भने, “रेफ्रीको नियुक्तिमा मेरो कुनै भूमिका हुँदैन । म अधिकारीहरूमाथि विश्वास गर्छु । मेरो ध्यान मोरक्कोलाई हराउनेमा मात्र केन्द्रित छ, रेफ्रीलाई म विपक्षी मान्दिनँ ।”

देशच्याम्प्सको अन्तिम यात्रा
सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताएका देशच्याम्प्सले यो प्रतियोगितापछि १४ वर्ष लामो आफ्नो कार्यकाल अन्त्य गर्दैछन् । यदि बिहीबार मोरक्कोसँग पराजित भएमा फ्रान्सेली प्रशिक्षकको रूपमा यो उनको अन्तिम खेल हुनेछ । तर, उनी यसबारे सोच्न चाहँदैनन् । “म यसबारे अहिले सोचिरहेको छैन । हाम्रो लक्ष्य भनेको मोरक्कोविरुद्ध राम्रो नतिजा निकाल्नु र अगाडि बढ्नु मात्र हो,” उनले थपे ।

फ्रान्स र मोरक्कोबीचको यो खेल सन् २०२२ को सेमिफाइनलको ‘रि-म्याच’ समेत हो, जसमा फ्रान्स २-० ले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *