मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा लगातार गिरावट, नेप्से १९ अङ्कले घट्दा कारोबार साढे ४ अर्बमा सीमित

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन ३० अङ्कले घटेको बजार परिसूचक नेप्से बिहीबार थप १९.६७ अङ्कले ओरालो लागेर २ हजार ६०१ अङ्कमा कायम भएको छ।

परिसूचक ओरालो लागेसँगै कारोबार रकममा पनि सामान्य ह्रास आएको छ। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६१ करोड रुपैयाँको मात्र कारोबार भएको छ। यस दिन बजारमा कारोबार भएका कम्पनीहरूमध्ये जम्मा ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २२९ कम्पनीको मूल्य घटेको छ। ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।

बिहीबार कारोबार भएका सबै समूहगत उपसूचकहरू राताम्मे बनेका छन्। सबैभन्दा बढी व्यापार उपसमूहको सूचक २.३६ प्रतिशतले घटेको छ। यसैगरी उत्पादन तथा प्रशोधन १.१९, विकास बैंक १.११, लगानी ०.९५, होटल तथा पर्यटन ०.७६, जलविद्युत् ०.७०, लघुवित्त ०.६९, निर्जीवन बीमा ०.६६, वित्त ०.६२, जीवन बीमा ०.६१ र बैंकिङ उपसमूहको सूचक ०.५० प्रतिशतले घटेका छन्।

गिरावट आएको बजारमा उपकार लघुवित्तको सेयर मूल्य १२.६८ प्रतिशत र स्नो रिभर्सको ११.७६ प्रतिशतले बढेको छ। त्यस्तै जनउत्थान लघुवित्तको ३.०९ र त्रिशुली जलविद्युत्को सेयर मूल्य २.७७ प्रतिशतले वृद्धि भयो। अर्कोतर्फ, सालपा विकास बैंकको सेयर मूल्य ८.२८ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ७.९२ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ५.७६ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा विभिन्न बैंकका ऋणपत्र (डिबेन्चर) हरू अग्रस्थानमा रहे। त्यसबाहेक रिलायन्स स्पिनिङ मिल्स, एसियन लाइफ इन्स्योरेन्स (संस्थापक सेयर), आँखुखोला जलविद्युत्, सेन्ट्रल फाइनान्स र बेस्ट फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाको वित्तीय सबलताका आधारमा मात्र सेयर धितो कर्जाको सीमा निर्धारण गरिने नीति ल्याएपछि लगानीकर्ताहरू यसको दीर्घकालीन प्रभावको विश्लेषणमा जुट्दा बजारमा सामान्य गिरावट देखिएको विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *