काठमाडौँ महानगरपालिकाको १९ औँ नगर सभा सम्पन्न : बजेट, नीति तथा विधेयकहरू सर्वसम्मत पारित
काठमाडौँ, २५ असार । काठमाडौँ महानगरपालिकाको १९ औँ नगर सभाको अधिवेशन विभिन्न महत्वपूर्ण विधेयक र वार्षिक प्रतिवेदनहरू संशोधनसहित पारित गर्दै आज सम्पन्न भएको छ । गत जेठ ३१ गतेबाट प्रारम्भ भएको यस अधिवेशनको आज बसेको छैटौँ बैठकसँगै समापन गरिएको हो ।
नगर सभाको समापन बैठकमा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनहरूमा समसामयिक संशोधन सम्बन्धी विधेयकका प्रस्तावित व्यवस्थाहरू पेश गर्नुभएको थियो । उक्त प्रस्तावमाथि नगर सभा सदस्यहरू विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले आफ्ना धारणा राख्नुभएको थियो । सभाका सदस्यहरूबाट प्राप्त लिखित संशोधन प्रस्ताव र सुझावहरूलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले निर्णयार्थ पेश गर्नुभएका ती विधेयकहरू सर्वसम्मतले पारित भएका छन् ।
यसैगरी, सभाको पाँचौँ बैठकमा पेश गरिएका न्यायिक समिति, लेखा समिति र सुशासन समितिका वार्षिक प्रतिवेदनहरूमाथि सदस्यहरूले दिएका सुझावलाई समावेश गर्दै आजको बैठकले पारित गरेको छ ।
प्रस्तावहरू पारित भएपछि सभालाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वीकृत कार्यक्रमहरूको सफल कार्यान्वयनबाट मतदाता, महानगरबासी र राजधानी सहरमा आश्रित नागरिकहरूको हित, सुरक्षा र सुविधाको प्रत्याभूति हुने गरी कार्य गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो ।
अधिवेशनका मुख्य उपलब्धिहरू:
जेठ ३१ गते सुरु भएको यस अधिवेशनको पहिलो बैठकमा कार्यवाहक प्रमुख डंगोलले आर्थिक वर्ष २०८३/०८४ का लागि ११ क्षेत्रलाई समेट्ने गरी १०१ बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो, जसलाई असार १ गतेको दोस्रो बैठकले पारित गरेको थियो ।
असार ४ गतेको तेस्रो बैठकमा आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो । उक्त बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयकलाई असार १७ गतेको चौथो बैठकले सर्वसम्मत रूपमा पारित गरेको थियो ।
अधिवेशनकै क्रममा जनस्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, विवाद निरुपण कार्यविधि, र कर्मचारी सेवा सर्त सम्बन्धी ऐनका संशोधन प्रस्तावहरूमाथि सघन छलफल गरी परिमार्जन गरिएको छ । साथै, ‘महानगर प्रहरी ऐन २०८०’ र ‘भवन निर्माण मापदण्ड २०८०’ को दोस्रो संशोधन विधेयक पनि यसै अधिवेशनबाट पारित भएका छन् ।
विभिन्न चरणमा भएका छलफल र लोकतान्त्रिक अभ्यासका माध्यमबाट महानगरको आगामी आर्थिक वर्षको मार्गचित्र तय गर्दै १९ औँ नगर सभा सफलतापूर्वक सम्पन्न भएको छ ।