शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको बढ्दो आकर्षण, आन्तरिक पर्यटकको वर्चस्व

कञ्चनपुर, २६ असार । सुदूरपश्चिमको प्रमुख जैविक सम्पदा र पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। चालू आर्थिक वर्षको असार तेस्रो सातासम्मको तथ्याङ्क अनुसार निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ।

निकुञ्ज प्रशासनको पछिल्लो विवरण अनुसार चालू आर्थिक वर्षमा कुल ४ हजार १९१ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन्। यो सङ्ख्या गत आर्थिक वर्षको कुल ३ हजार ७२२ को तुलनामा ४६९ ले बढी हो। पर्यटक आगमनको यो वृद्धिले कोभिडपछिको पर्यटन पुनरुत्थान र स्थानीय स्तरमा बढ्दो प्रचारप्रसारको प्रभावलाई पुष्टि गरेको छ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेका अनुसार भ्रमण गर्ने पर्यटकमध्ये २ हजार ५३४ पुरुष र १ हजार ६५७ महिला रहेका छन्।
शुक्लाफाँटाको पर्यटनमा आन्तरिक पर्यटकको हिस्सा सबैभन्दा बलियो देखिएको छ। कुल पर्यटकमध्ये करिब ८८ प्रतिशत अर्थात् ३ हजार ६९९ जना नेपाली नागरिक रहेका छन्। यसले निकुञ्ज आन्तरिक पर्यटकका लागि ‘प्रकृतिको पहिलो रोजाइ’ बन्दै गएको छ।

विदेशी पर्यटगतर्फ सार्क मुलुकबाट ३५८ र तेस्रो मुलुकबाट १५६ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। विदेशी पर्यटकको आगमन सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा २२ जना बढेको छ।

महिनागत तथ्याङ्क हेर्दा चैतमा सबैभन्दा बढी ६२१ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । त्यसपछि कात्तिकमा ५८०, जेठमा ५७९, वैशाखमा ५५४ र असारमा ४२४ जना पुगेका छन् । मौसम अनुकूल हुने तथा वन्यजन्तु अवलोकन सहज हुने भएकाले चैत, वैशाख र जेठमा पर्यटकको चाप बढी हुने गरेको छ ।

सबैभन्दा कम पर्यटक असोजमा मात्र नौ जना पुगेका थिए । त्यसपछि मङ्सिरमा २९३, माघमा ३६९, पुसमा ३७६ र फागुनमा ३८६ जनाले निकुञ्ज भ्रमण गरेका छन् । वर्षायाम तथा पर्यटकीय सिजन सुरु नहुँदा असोजमा पर्यटकको सङ्ख्या न्यून हुने गरेको देखिन्छ ।

गत आव २०८१/८२ मा निकुञ्जमा तीन हजार ७२२ पर्यटक आएका थिए । तीमध्ये तीन हजार ३७१ नेपाली, १९९ सार्क राष्ट्रका तथा १५२ जना तेस्रो मुलुकका पर्यटक थिए ।

चालु आवमा नेपाली तथा सार्क मुलुकका पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढे पनि तेस्रो मुलुकका पर्यटकको आगमन अपेक्षाकृत स्थिर देखिएको छ । करिब ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ मानिने बाह्रसिङ्गाको सबैभन्दा ठूलो बासस्थानका रूपमा परिचित छ ।

यहाँ बाह्रसिङ्गासँगै पाटेबाघ, जङ्गली हात्ती, एकसिङ्गे गैँडा, चितुवा, नीलगाई, जरायो, रतुवा, जङ्गली बँदेल, भालु, स्याल, बँदेललगायतका वन्यजन्तु पाइन्छन् । निकुञ्ज पन्छीप्रेमीका लागि पनि आकर्षक गन्तव्य हो । यहाँ ४५० भन्दा बढी प्रजातिका चराचुरुङ्गी अभिलेख गरिएका छन् ।

निकुञ्जभित्रका विशाल शुक्लाफाँटा घाँसेमैदान, रानीताल, सिकारी ताल, सलगौडी ताल, बाबा ताल, सालघारी, चौधर नदी क्षेत्र, वन्यजन्तु अवलोकन टावर तथा प्राकृतिक पदमार्ग पर्यटकका मुख्य आकर्षण हुन् । बिहान र साँझको समयमा हात्ती सफारी, जिप सफारी तथा बर्ड वाचिङमार्फत पर्यटकले वन्यजन्तु नजिकबाट अवलोकन गर्ने अवसर पाउँछन् ।

प्राकृतिक सम्पदा, जैविक विविधता र वन्यजन्तु अवलोकनको अनुपम गन्तव्यका रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापित हुँदै गएको छ ।