तेस्रो ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ साउन ३० मा काठमाडौँमा हुने, मदनकृष्ण श्रेष्ठलाई दीर्घसाधना सम्मान

काठमाडौँ, २८ असार । यसअघि बेलायतमा आयोजना हुँदै आएको ‘अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यस वर्ष नेपालमा आयोजना हुने भएको छ। आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालका अनुसार आगामी साउन ३० गते काठमाडौँमा अवार्ड समारोह आयोजना गरिनेछ।

अवार्डमा सहभागी चलचित्रमध्ये उत्कृष्ट पाँचको मनोनयन (मनोनीत सूची) सार्वजनिक गर्न सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उत्कृष्ट कलाकार तथा प्राविधिकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। अवार्डका निर्देशक मनिष कार्कीका अनुसार वि.सं. २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० चलचित्रमध्ये विभिन्न विधामा उत्कृष्ट पाँचमा छनोट भएकाहरूलाई प्रमाणपत्र दिइएको हो।

अवार्डको निर्णायक समितिमा वरिष्ठ अभिनेता हरिहर शर्मा संयोजक तथा अभिनेत्री गौरी मल्ल, निर्देशक एवं कलाकार रमेश बुढाथोकी र सम्पादक एवं गीतकार करुण सदस्य रहेका छन्। निर्णायक समितिका संयोजक शर्माले मूल्यांकन निष्पक्ष र विवेकपूर्ण रूपमा गरिएको बताए। “हरेक अवार्डमा विजेताहरू खुसी हुने र समेटिन नसकेकाहरू असन्तुष्ट हुनु स्वभाविक हो। तर हाम्रो समितिले बिनाकुनै पूर्वाग्रह निष्पक्ष ढङ्गले निर्णय गरेको छ,” उनले भने।

अवार्ड समारोहमा कुल ३२ विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन्। यस वर्षको ‘दीर्घसाधना सम्मान’ बाट वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई नगद १ लाख ११ हजार १११ रुपैयाँसहित सम्मानित गरिने घोषणा गरिएको छ।

मनोनयन सार्वजनिक कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, अभिनेता भुवन केसी, प्रमोद अग्रहरी, अभिनेत्री जसिता गुरुङ, खुसी कार्की, उषा उप्रेती, निर्देशक कृषा चौलागाईं, पूर्णेन्दु झा, सुदिप्ता अधिकारी लगायत नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।