भोटेकोशी नदीमा आएको बाढीले २९१ विदेशीसहित ३८४ पर्यटक सम्पर्कविहीन, विवरणसहित

काठमाडौँ, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोका कारण सो क्षेत्रमा भ्रमणमा रहेका ३८४ जना आन्तरिक तथा बाह्य पर्यटकहरू सम्पर्कविहीन भएका छन्।

नेपाल पर्यटन बोर्डले विभिन्न ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै झन्डै चार सय पर्यटक सम्पर्कविहीन भएको जनाएको हो। बोर्डका अनुसार सम्पर्कविहीन भएकाहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्। ट्राभल एजेन्सी, स्थानीय निकाय, पथप्रदर्शक (गाइड) र सुरक्षा निकायहरूसँगको समन्वय र पुष्टि गरेपछि बोर्डले यो विवरण सार्वजनिक गरेको हो।
विभिन्न एजेन्सीबाट गएका पर्यटकहरूको विवरण यस्ताे छ :
सम्राट टुर्स एन्ड ट्राभल्स: ७१ जना (५९ भारतीय र १२ नेपाली)
ट्रेकर्स सोसाइटी: ९२ जना (७७ विदेशी र १५ नेपाली)
लिफ होलिडेज: ५५ जना (४६ भारतीय र ९ नेपाली)
हिमालयन ग्लेसियर: ५२ जना (३७ विदेशी र १५ नेपाली)
कैलाश जर्नी: ३१ जना (२६ विदेशी र ५ नेपाली)
फिस्टेल टुर्स एन्ड ट्राभल: २७ जना (२० विदेशी र ७ नेपाली)
अल्पाइन इको ट्रेक: २० जना (१६ विदेशी र ४ नेपाली)
काठमाडौँ होलिडेज: १७ जना (१ विदेशी र १५ नेपाली)
रिचा टुर्स एन्ड ट्राभल्स: १२ जना (८ विदेशी र ४ नेपाली)
एक्स्प्लोर भ्याकेसन: ७ जना (नेपाली)

बाढी प्रभावित क्षेत्रहरूमा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकहरूसँग सम्पर्क हुन नसकेको अनुमान गरिएको छ। नेपाल पर्यटन बोर्डले गृह मन्त्रालय र सुरक्षा निकायहरूसँगको समन्वयमा सम्पर्कविहीन पर्यटकहरूको यकिन अवस्था पत्ता लगाउन र प्रभावितहरूको तत्काल उद्धार गर्न समन्वयात्मक रूपमा हवाई तथा स्थलगत खोजी कार्य तीव्र बनाएको जनाएको छ।