भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ६१६ पुगेको छ । नेपाल प्रहरीले आज (शनिबार) बिहान ६:०० बजे सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विभिन्न आठ जिल्लाका नदी तटीय क्षेत्रमा गरी हालसम्म ६१६ जनाको शव फेला परेको हो ।

बाढीको तीव्र बहावले बगाएर ल्याएका शवहरू रसुवाभन्दा तल्लो तटीय जिल्लाहरूमा धेरै भेटिएका छन् । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमा चितवन : २३३ जना, नवलपरासी पूर्व : १५८ जना, गोरखा : ४८ जना
नवलपरासी पश्चिम : ४७ जना, धादिङ : ४५ जना, नुवाकोट : ४१ जना, तनहुँ : ३१ जना, रसुवा : १३ जना रहेका छन् ।

प्रहरी प्रवक्ता काफ्लेले थप तथ्याङ्क सङ्कलन भइरहेको र बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तर रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो । बाढीको उच्च जोखिममा रहेका विभिन्न जिल्लाका परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र सम्बन्धित सरोकारवाला निकायहरूसँगको समन्वयमा खोजी कार्यलाई तीव्रता दिनुका साथै बाढी र पहिरोका कारण अवरुद्ध भएका विभिन्न सडक खण्डहरू खुलाउने प्रयास समेत गरिरहेको छ । अझै ठुलो सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ ।