पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ, १३ भदौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ खण्ड शुक्रबार रातिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धादिङको बैरेनीदेखि गलौदीसम्मको सडक खण्डमा थुप्रिएको लेदो र भग्नावशेष पन्छाएपछि यातायात सुचारु भएको हो ।
सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार शुक्रबार राति ८:०० बजेदेखि सडक एकतर्फी (वान-वे) सञ्चालनमा ल्याइएको छ । बाढीले सडकमा ठुलो मात्रामा लेदो थुपारेका कारण विगत दुई दिनदेखि यो राजमार्ग पूर्ण रूपमा ठप्प बनेको थियो ।
बैरेनी क्षेत्रमा अझै केही लेदो पन्छाउन बाँकी रहेकाले तत्काल दुईतर्फी यातायात सञ्चालन गर्न नसकिएको उहाँले जानकारी दिनुभयो ।
सडकमा सवारीसाधनको चाप उच्च रहेकाले ट्राफिक व्यवस्थापनका लागि ठाउँठाउँमा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । बाँकी रहेको लेदो पन्छाउने काम जारी रहेको र सम्भव भएसम्म चाँडै राजमार्गलाई दुईतर्फी नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको सडक विभाग र ट्राफिक प्रहरीले जनाएका छन् ।