घिन्ताङघिसी नाचसँगै भक्तपुरमा सुरु भयो नौ दिने गाईजात्रा, तलेजुबाट ऐतिहासिक जात्राको शुभारम्भ
भक्तपुर, १३ भदौ । भक्तपुरमा ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको गाईजात्रा पर्व शुक्रबार साँझदेखि विधिवत् रूपमा सुरु भएको छ। भक्तपुर दरबार स्क्वायरस्थित तलेजु भवानीको मन्दिरबाट घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गराएसँगै आठ रात नौ दिन लामो यस वर्षको जात्राको शुभारम्भ भएको हो।
परम्पराअनुसार जनै पूर्णिमाको दिन साँझ तलेजुबाट घिन्ताङघिसी नाच निस्किएपछि मात्र नगरका अन्य टोलहरूमा जात्राको सुरुवात गर्ने अनुमति मिल्दछ। तलेजुको घिन्तागिसी निस्किएसँगै भक्तपुरका विभिन्न टोलहरूबाट अन्य परम्परागत नाच, भजन र सांस्कृतिक झाँकीहरू निस्कन थालेका छन्।
गाईजात्राको मुख्य दिन (आज) बिहानैदेखि भक्तपुरमा विशेष रौनक देखिनेछ। यस दिन वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा बाँस र कपडाबाट बनाइएको ‘ताहमचा’ (गाईको प्रतीक) लाई नगर परिक्रमा गराइन्छ। कतिपयले जिउँदो गाई र डोकोमा सिँगारिएको गाईलाई पनि नगर परिक्रमा गराउने गर्दछन्।
भक्तपुरको जात्रामा साँझपख पोटरी स्क्वायर (लाकुलाछें) बाट निकालिने परालको ‘भैलद्य’ (भैरवको प्रतीक) सहितको घिन्ताङघिसी नाचलाई विशेष आकर्षणका रूपमा लिइन्छ। यो परिक्रमा सकिएपछि उक्त दिनको मुख्य जात्रा सम्पन्न हुने मानिन्छ।
जनै पूर्णिमादेखि सुरु भएको यो जात्रा कृष्ण जन्माष्टमीसम्म जारी रहन्छ। यस अवधिमा प्रत्येक दिन साँझ नगरका विभिन्न टोलमा घिन्ताङघिसीका साथै विभिन्न मौलिक नाच, नाटक र सामाजिक विकृतिमाथि प्रहार गर्ने ‘ख्याल’ (प्रहसन) हरू प्रदर्शन गरिन्छ। संस्कृतिविद् डा. कमलभक्त जोशीका अनुसार गथामुंग (घण्टाकर्ण) पर्व सकिएदेखि नै भक्तपुरमा यस जात्राको तयारी सुरु हुने परम्परा छ।