दिवङ्गत आफन्तको सम्झनामा आज उपत्यकासहित देशैभर ‘गाईजात्रा’ पर्व मनाइँदै

काठमाडौँ, १३ भदौ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक एवं ऐतिहासिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । विशेषगरी नेवार समुदायको बसोबास रहेका क्षेत्रमा यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ । यसरी नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरूले गाईको पुच्छर समातेर ‘वैतरणी’ नदी पार गर्छन् र मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ । नगर परिक्रमाका क्रममा श्रद्धालुहरूले गाई वा गाईका रूपमा सिँगारिएका मानिसहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्दछन् ।

मल्लकालीन राजा प्रताप मल्लले आफ्नो छोराको मृत्युपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन यो पर्व सुरु गराएको ऐतिहासिक तथ्य छ । “दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ” भन्ने देखाउन राजाले सबैलाई आफ्नो घरबाट गाईजात्रा निकाल्न आदेश दिएका थिए । यति गर्दा पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेश दिएसँगै यो पर्वमा हाँस्यव्यङ्ग्यको परम्परा थपिएको जनश्रुति छ ।

गाईजात्रा काठमाडौँ उपत्यकाका तीनै सहर (काठमाडौँ, ललितपुर र भक्तपुर) सहित बनेपा, धुलिखेल, पनौती, त्रिशूली, दोलखा, पोखरा, धरान, विराटनगर, हेटौँडा र वीरगञ्ज लगायतका स्थानमा धुमधामका साथ मनाइन्छ । काठमाडौँमा गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने पुरानो परम्परा अझै कायमै छ ।

यो पर्व केवल धार्मिक अनुष्ठानमा मात्र सीमित नभई सामाजिक विकृतिप्रति व्यङ्ग्य गर्ने माध्यम पनि बनेको छ । यस अवसरमा विभिन्न स्थानमा हाँस्यकलाकारहरूले प्रहसन, सामाजिक विसङ्गतिमाथि व्यङ्ग्यात्मक प्रदर्शन र नाचगान आयोजना गर्ने गर्दछन् । कतिपय स्थानमा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीतहरू समेत गाइन्छ ।

यस वर्ष गाईजात्राको सार्वजनिक बिदा शनिबारकै दिन परेको छ । उपत्यकाका सडकहरूमा आज बिहानैदेखि गाई र गाईका रूपमा सजिएका बालबालिकाहरूको चहलपहल देखिएको छ ।