भोटेकोशी बाढीको: ४ दिनपछि ७ वर्षीया बालिकाको जीवितै उद्धार, थप उपचारका लागि काठमाडौँ ल्याइयो
रसुवा, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको चार दिनपछि शनिबार एक सात वर्षीया बालिकाको जीवितै उद्धार गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बाढीले बगाएर ल्याएको लेदो र माटोमा पुरिएकी शिरगङ्गा इचाई मगरलाई सुरक्षाकर्मीको टोलीले जीवितै फेला पारेको हो ।
सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म धुन्चेबाट खटिएको उद्धार टोलीले बालिकालाई हिलाम्मे र गम्भीर घाइते अवस्थामा फेला पारेको थियो । उद्धार लगत्तै उनलाई हेलिकप्टरमार्फत रसुवा जिल्ला अस्पताल धुन्चे पुर्याइएको थियो ।
रसुवा जिल्ला अस्पतालका वरिष्ठ सर्जन डा. सुनीलकुमार दासका अनुसार बालिकाको स्वास्थ्य अवस्था गम्भीर देखिएकाले प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा ‘रेफर’ गरिएको छ ।
बालिकाका आमा र बुबालाई यसअघि नै सोही स्थानबाट उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइसकिएको छ । उनकी आमा गीता इचाई मगर ग्लोबल आइएमई बैंकको टिमुरे शाखामा कार्यरत कर्मचारी हुन् । अर्घाखाँची स्थायी घर भएका गीता र लोकबहादुर इचाई मगरलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङले जानकारी दिनुभयो ।
विनाशकारी बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति पुर्याएको र सयौँ मानिस बेपत्ता भइरहेको अवस्थामा, चार दिनपछि सात वर्षीया बालिका जीवितै भेटिनुलाई उद्धारकर्मीहरूले एउटा सुखद र आश्चर्यजनक घटनाका रूपमा लिएका छन् । प्रभावित क्षेत्रमा अझै पनि सुरक्षा निकायको टोलीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको छ ।