घटेन किशोरी आमा बन्ने क्रम : कूल सुत्केरीमध्ये ९ प्रतिशत २० वर्षमुनिका

चितवन, १७ भदौ । चितवन जिल्लामा किशोरी अवस्थामै आमा बन्ने समस्या अझै चुनौतीका रूपमा रहेको छ । जनस्वास्थ्य कार्यालय चितवनको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार जिल्लामा २० वर्षमुनि आमा बन्नेहरूको सङ्ख्या घट्न सकेको छैन ।

कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा प्रसूति सेवा लिन आउनेमध्ये करिब ८ देखि ९ प्रतिशत किशोरीहरू हुने गरेका छन् ।
गत आर्थिक वर्ष : ११ हजार ८६८ सुत्केरीमध्ये ९८५ जना किशोरी (२० वर्षमुनिका) ।
आव २०८१/८२ : ११ हजार ८९ सुत्केरीमध्ये ९५८ जना किशोरी ।
आव २०८०/८१ : १३ हजार ५०३ सुत्केरीमध्ये १ हजार १८८ जना किशोरी ।

नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न बन्देज लगाए पनि जिल्लाका ग्रामीण भेगमा बालविवाह अझै कायमै रहेको अधिकारीहरूको भनाइ छ । “समाजमा जरा गाडेर बसेको परम्परालाई तोड्न नसक्नु र कानुनको प्रभावकारी कार्यान्वयन नहुनु नै किशोरी आमा बन्ने क्रम नघट्नुको मुख्य कारण हो,” सूचना अधिकारी भण्डारीले भन्नुभयो ।

कम उमेरमा गर्भधारण गर्नु र आमा बन्नु स्वास्थ्यका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । भरतपुर अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुजन भुसाल न्यौपानेका अनुसार किशोरीको शरीर प्रजननका लागि पूर्ण रूपमा तयार भइसकेको हुँदैन । “कलिलो उमेरमा बच्चा जन्माउँदा प्रसूतिमा जटिलता आउने, बच्चाको तौल कम हुने र आमाको दीर्घकालीन स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ,” डा. न्यौपानेले भन्नुभयो, “यसले किशोरीको शिक्षा र सामाजिक अवसरहरूलाई समेत सधैँका लागि कुण्ठित बनाउँछ ।”

तथ्याङ्कअनुसार गत आवमा ९८५ किशोरीमध्ये ६३० जनाले मात्र दक्ष प्रसूतिकर्मीबाट सेवा लिएका थिए । अझै पनि १८ जना किशोरीले घरमै शिशु जन्माएको पाइएको छ, जसलाई स्वास्थ्यकर्मीहरूले अत्यन्तै जोखिमपूर्ण मानेका छन् । जिल्ला प्रशासन र स्थानीय तहहरूले बालविवाह न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरे पनि तथ्याङ्कमा देखिएको यो चित्रले थप प्रभावकारी सचेतना र कानुनी कडाइको आवश्यकता औँल्याएको छ ।