एमाले अध्यक्ष ओली बाढी प्रभावितलाई राहत लिएर पुगे नुवाकोट

काठमाडौँ, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावितहरूको घाउमा मलम लगाउन राहत सामग्रीसहित नुवाकोट पुग्नुभएको छ। पार्टी केन्द्रीय कार्यालयबाट राहत सामग्री पठाएर अध्यक्ष ओली आफैँ स्थलगत अवस्था बुझ्न र पीडितहरूलाई भेट्न शुक्रबार नुवाकोटतर्फ लाग्नुभएको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार अध्यक्ष ओलीको नेतृत्वमा रहेको टोलीले बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत र सरसफाइ कार्यको निरीक्षण गर्नेछ। “अध्यक्षसहित हामी बाढी पीडितका समस्या र दुःख सुन्न आएका हौँ,” सचिव बस्नेतले भन्नुभयो, “पार्टीले परिचालन गरेका स्वयंसेवकहरूको कामको पनि आज अध्यक्षबाट निरीक्षण हुनेछ।”

नुवाकोटमा एमालेको ‘नेसनल भोलिन्टियर फोर्स’ मार्फत करिब ३०० स्वयंसेवकहरू परिचालित भएका छन्। ती स्वयंसेवकहरूले बाढी प्रभावितहरूलाई खाना खुवाउने, राहत सामग्री वितरण गर्ने र बाढीले थुपारेको लेदो तथा भग्नावशेष हटाएर सरसफाइ गर्ने काम गरिरहेका छन्।

एमालेले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापना कार्यलाई व्यवस्थित बनाउन जिल्ला तहमा छुट्टै ‘सहयोग समिति’ हरू समेत गठन गरेको छ। यी समितिहरूले स्थानीय प्रशासनसँग समन्वय गरी पीडितहरूलाई आवश्यक सहयोग पुर्‍याउने काम गरिरहेका छन्।

अध्यक्ष ओली नेतृत्वको टोली प्रभावित क्षेत्रको अवलोकन र पीडितहरूसँगको साक्षात्कारपछि आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको छ। भदौ १० गतेको विनाशकारी बाढीले नुवाकोट र रसुवामा ठुलो जनधनको क्षति पुर्‍याएपछि राजनीतिक दलहरू यतिबेला राहत र पुनःस्थापनामा सक्रिय भएका छन्।