सुन्धारालाई पुनर्जीवन दिने कार्यवाहक प्रमुख डंगोलको अठोट : प्राकृतिक वहाव र निकासको खोजी तीव्र
काठमाडौँ , भदौ २५ । काठमाडौँको ऐतिहासिक एवं सांस्कृतिक पहिचान बोकेको सुन्धारामा पुनः प्राकृतिक रूपमै पानी खसाल्ने र त्यसको दिगो निकास सुनिश्चित गर्ने कार्यमा काठमाडौँ महानगरपालिकाले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले सुन्धारालाई पुनर्जीवन दिने कार्यलाई ‘अर्जुन दृष्टि’ बनाउँदै यसका लागि आवश्यक अध्ययन र पूर्वाधार निर्माणमा तीव्रता दिन निर्देशन दिनुभएको छ ।
२०८२ फागुन ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सुन्धारामा पानी ल्याउने, निकास खोल्ने र पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरले पाएपछि यस कार्यले गति लिएको हो । सोही योजनाअनुरूप अहिले ‘अभियान कन्सल्टिङ’ मार्फत प्राविधिक अध्ययन भइरहेको छ ।
अध्ययनका लागि टुँडिखेलमा इनार
जमिनको सतहमुनि पानीको उपलब्धता र अवस्था पहिचान गर्न महानगरले टुँडिखेलको पश्चिम कुना (महाङ्काल मन्दिरको दक्षिणतर्फ) साढे ३ फिट गोलाइ र १० फिट गहिरो इनार खनेर अध्ययन सुरु गरेको छ । सुन्धाराको सतहभन्दा १० फिट माथिको पानी मात्र प्राकृतिक रूपमा धारामा पठाउन सकिने प्राविधिक आकलनका आधारमा यो इनार खनिएको हो ।
अध्ययन स्थलको निरीक्षण गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “हाम्रो लक्ष्य सुन्धारामा प्राकृतिक रूपमै पानी खसाल्नु र त्यसको निकास खोल्नु हो । यो ऐतिहासिक सम्पदालाई पुनर्जीवन दिन अध्ययनका लागि लाग्ने समयबाहेक हामी एक पल पनि खेर फाल्ने पक्षमा छैनौँ ।” उहाँले परामर्शदाता र सम्पदा विभागलाई परिणाममुखी भएर काम गर्न र निरन्तर निगरानी बढाउन निर्देशन समेत दिनुभयो ।
विज्ञहरूको विश्लेषण
अध्ययनका क्रममा इनार खन्दा हरेक एक फिटमा भेटिएको माटोको नमुना संकलन गरिएको छ । भूमिगत जलस्रोत विज्ञ डा. विजयमान शाक्यका अनुसार माटोको सूक्ष्म परीक्षणबाट पानीको उपलब्धता र बहावको प्रकृतिको विस्तृत विश्लेषण गरिनेछ । जल संरक्षण विज्ञ विश्वप्रकाश अमात्यले इनारको प्रतिवेदन आएपछि मात्र थप प्रक्रिया अघि बढाउन सकिने बताउनुभयो ।
किन सुक्यो सुन्धारा
सुन्धारामा वि. सं. २०४१ सालसम्म पानीको सहज निकास थियो । तर, काठमाडौँ मलजस्ता ठूला संरचना निर्माणका क्रममा जग खन्दा लगाइएका फलामे पाताले प्राकृतिक बहाव अवरुद्ध पारेको स्थानीयको अनुभव छ । स्थानीय गौतम डंगोलका अनुसार २०५६ सालमा पानी ल्याउने प्रयास सफल भए पनि निकास अभावमा उक्त प्रयास सफल हुन सकेन । २०७२ सालको भूकम्पपछि धरहरा पुनर्निर्माणका क्रममा भएका थप निर्माणले पुराना जल प्रणालीलाई अझ बढी क्षति पुर्याएको थियो ।
यिनै जटिलताहरूका बीच कार्यवाहक प्रमुख डंगोलले प्राविधिक समाधान खोजेर सुन्धाराको वैभव फर्काउने दृढता व्यक्त गर्नुभएको छ । महानगरको यो सक्रियताले लामो समयदेखि प्यासी बनेको ऐतिहासिक सुन्धारामा फेरि पानी झर्ने आशा जगाएको छ ।
