ट्रम्पको इरानसँगको व्यापार युद्धले स्पेनको ‘पाएला’ संकटमा: केशर आपूर्ति अवरुद्ध हुने जोखिम

 

म्याड्रिड ।  अमेरिकाले इरानका व्यापारिक साझेदारहरूमाथि कडा कारबाही गर्ने धम्की दिएसँगै यसको बाछिटा स्पेनको भान्छासम्म पुग्ने देखिएको छ। इरानबाट आयात हुने ‘केशर’ (Saffron) मा स्पेन निर्भर रहेकाले अमेरिकी नीतिले स्पेनको विश्वप्रसिद्ध राष्ट्रिय परिकार ‘पाएला’ (Paella) को स्वाद र व्यापारलाई प्रत्यक्ष असर पार्न सक्ने देखिएको छ।

‘पाएला’ चामलबाट बन्ने एक विशेष परिकार हो, जसलाई यसको विशिष्ट पहेंलो रङ र माटोको सुगन्धका लागि केशर अनिवार्य मानिन्छ। स्पेनको कास्टिला–ला मान्चा क्षेत्रमा केही मात्रामा केशर उत्पादन हुने भए पनि मागको ठूलो हिस्सा इरानबाट आयात हुने गर्दछ।

अमेरिकी प्रतिबन्धको त्रास
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक रूपमा कमजोर बनाउन तेहरानका व्यापारिक साझेदारहरू विरुद्ध “आर्थिक आक्रमण” सुरु गर्ने चेतावनी दिनुभएको छ। यसै सिलसिलामा अमेरिकी अर्थ मन्त्रालयले इरानसँगको आर्थिक लेनदेनमा सहजीकरण गरेको आरोपमा टर्कीको ‘गोल्डेन ग्लोबल बैंक’ माथि प्रतिबन्धको घोषणा गरिसकेको छ।

स्पेनको केशर निर्यात गर्ने कम्पनी ‘CEAE’ का जोस लुइस गुएरेरोले भन्नुभयो, “अमेरिकाको यो धम्की हाम्रा लागि ठूलो समस्या बन्न सक्छ। हाम्रो सबैभन्दा ठूलो आपूर्तिकर्ता इरान हो र हामी यहाँबाट केशर ल्याएर विश्वभर बिक्री गर्छौं।”

युरोपको ‘प्रवेशद्वार’ संकटमा
स्पेनको सरकारी व्यापार निकाय ‘ICEX’ का अनुसार, स्पेन युरोपमा केशर भित्र्याउने मुख्य ‘प्रवेशद्वार’ हो। दुई वर्षअघिको तथ्याङ्क अनुसार युरोपेली संघले इरानबाट आयात गर्ने कुल केशरको तीन–चौथाई हिस्सा स्पेनले मात्रै ल्याएको थियो। स्पेनका कम्पनीहरूले इरानबाट केशर आयात गरेर त्यसलाई प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्व बजारमा पठाउने गर्छन्।

स्पेन सरकारको तथ्याङ्क अनुसार सन् २०२५ मा स्पेनले इरानबाट १४१ मिलियन डलर बराबरका सामान आयात गरेको थियो, जसमा ६१ मिलियन डलर (करिब ४० प्रतिशत) हिस्सा केशरको मात्रै थियो।

चिसिँदो अमेरिका–स्पेन सम्बन्ध
केशरको व्यापारमा देखिएको यो संकटको पृष्ठभूमिमा अमेरिका र स्पेनबीचको चिसिँदो कूटनीतिक सम्बन्धले पनि भूमिका खेलेको छ। राष्ट्रपति ट्रम्प र स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजबीच नेटो (NATO) को रक्षा खर्चलाई लिएर विवाद हुँदै आएको छ। ट्रम्पले स्पेनलाई “खराब साझेदार” भन्दै व्यापारिक सम्बन्ध तोड्ने धम्की समेत दिनुभएको थियो।

यसैगरी, प्रधानमन्त्री सान्चेजले इरानमाथि अमेरिका र इजरायलले गरिरहेको युद्धलाई “अवैध” भन्दै आलोचना गर्नुभएको छ। सान्चेजले गाजा युद्धमा इजरायलको भूमिकाको पनि कडा विरोध गर्दै आउनुभएको छ, जसले वासिङ्टनलाई रुष्ट बनाएको छ।

सेफहरू ढुक्क: “पाएलालाई कसैले छुन सक्दैन”
व्यापारिक र कूटनीतिक तनावका बावजुद स्पेनका सेफहरू भने आफ्नो परिकारप्रति ढुक्क देखिएका छन्। भ्यालेन्सियाका सेफ भिसेन्टे रोजाले भन्नुभयो, “हाम्रो पाएलालाई कसैले छुन सक्दैन। यो स्पेनको आत्मा हो। जेसुकै भए पनि हामी यसलाई जोगाउँछौँ।”

यसअघि पनि बेलायती सुपरमार्केट टेस्कोले ‘पाएला स्यान्डविच’ बनाएको र सेफ जेमी ओलिभरले यसमा ‘चोरिजो’ मिसाउन सुझाव दिँदा स्पेनीहरूले त्यसलाई “सांस्कृतिक आतंकवाद” भन्दै कडा प्रतिवाद गरेका थिए। अहिलेको व्यापार युद्धले केशरको मूल्य बढाउन सक्ने भए पनि स्पेनीहरू आफ्नो पहिचानको रूपमा रहेको ‘पाएला’ को स्वादमा सम्झौता नगर्ने मुडमा देखिएका छन्।