काठमाडौँको रात्रिकालीन जनजीवन सहज बनाउन कार्यवाहक प्रमुख डंगोलको सक्रियता : असोजदेखि ६ रुटमा थपिनेछन् २८ रात्रिकालीन बस
काठमाडौँ, भदौ २४ । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई भरपर्दो बनाउँदै ‘सहर कहिल्यै सुत्दैन’ भन्ने मान्यतालाई स्थापित गर्न काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सक्रियता देखाउनुभएको छ । बेलुका ८ बजेपछि घर फर्किन सास्ती खेपिरहेका उपत्यकावासीको समस्यालाई सम्बोधन गर्दै डंगोलको अध्यक्षतामा बसेको उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख र सरोकारवालाहरूको बैठकले आगामी असोज १ गतेदेखि ६ वटा नयाँ रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन गर्ने महत्त्वपूर्ण निर्णय गरेको हो ।
काठमाडौँको सहरी जीवनलाई रात्रिकालीन समयमा पनि चलायमान र सुरक्षित बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको डंगोलको ठम्याइ छ । बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीले नाफा-घाटा भन्दा पनि नागरिकलाई सेवा दिने लक्ष्यसहित ३ महिना परीक्षण सेवा सञ्चालन गर्यौँ । अब यसलाई दिगो र सुरक्षित बनाउन उपत्यकाका सबै नगरपालिकाहरूको वित्तीय साझेदारीमा अगाडि बढाउनेछौँ ।”
विस्तारित रुट र सेवाको स्वरूप
साझा यातायातसँगको समन्वयमा सञ्चालन हुने यो सेवाले उपत्यकाका उत्तर-दक्षिण र पूर्व-पश्चिम दुवै क्षेत्रलाई जोड्नेछ ।
गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा बस
भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा बस
एअरपोर्टदेखि चन्द्रागिरीको नागढुङ्गासम्म ४ वटा बस
कीर्तिपुरदेखि नेपाल वायुसेवा निगम (रत्नपार्क) सम्म ४ वटा बस
चक्रपथमा दुवैतर्फ फन्को लगाउन ८ वटा बस
यात्रुहरूले चक्रपथमा सञ्चालन हुने बस प्रयोग गरी एक ठाउँमा बस परिवर्तन गर्दा उपत्यकाको जुनसुकै कुनासम्म पुग्न सक्ने व्यवस्था मिलाइएको छ । यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ मात्र भाडा लाग्ने गरी सहुलियतको व्यवस्था गरिएको छ ।
नागरिकलाई सहुलियत, नगरपालिकाहरूको साझेदारी
कार्यवाहक प्रमुख डंगोलले अहिलेको परिस्थितिमा भाडा बढाउनुभन्दा पनि नागरिकलाई सुलभ सेवा दिनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । उहाँको प्रस्ताव अनुसार सेवा सञ्चालनमा हुने खर्चको दायित्व जनघनत्व, भूगोल र स्थानीय तहको क्षमताका आधारमा सबै नगरपालिकाहरूले बाँडफाँड गर्नेछन् ।
बैठकमा सहभागी चन्द्रागिरीका प्रमुख घनश्याम गिरी, बुढानीलकण्ठका प्रमुख मिठाराम अधिकारी, गोदावरीका प्रमुख गजेन्द्र महर्जन र भक्तपुरकी उपप्रमुख रजनी जोशीले डंगोलको यस कदममा ऐक्यबद्धता जनाउनुभएको छ । विशेषगरी भक्तपुरका नागरिकले राति ८ बजेपछि महँगो भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य हुनेमा उपप्रमुख जोशीले विश्वास व्यक्त गर्नुभयो ।
रात्रिकालीन पर्यटन र सुरक्षामा जोड
बस सेवाको विस्तारसँगै रात्रिकालीन सहरी जीवनलाई प्रवर्धन गर्न जात्रा, पर्व र मेलाहरू आयोजना गर्ने योजना समेत बैठकले तय गरेको छ । सार्वजनिक स्थलहरूमा चहलपहल बढाउँदा सुरक्षाको अनुभूति हुने र आर्थिक गतिविधि पनि बढ्ने कार्यवाहक प्रमुख डंगोलको विश्वास छ ।
यसका साथै, रात्रिकालीन बस सेवाका लागि आवश्यक चार्जिङ स्टेशन निर्माण, बस पार्क व्यवस्थापन र विद्यमान यातायात कानुनमा संशोधनका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय समेत भएको छ ।
असोज १ देखि सुरु हुने यो विस्तारित सेवाले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा नयाँ आयाम थप्ने र रात्रिकालीन समयमा काम गर्ने तथा ढिलो गरी घर फर्कने हजारौँ सर्वसाधारणका लागि ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।