भक्तपुरमा पाँच दीपंकर बुद्धको नगर परिक्रमासँगै मनाइयाे पञ्चदान पर्व
भक्तपुर, २४ भदौ । भक्तपुरका पाँच महाविहारबाट निकालिएका पाँच दीपंकर बुद्धलाई नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाएकाे छ ।
ऐतिहासिक मान्यताअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले यो पर्व सुरु गरेको भनाइ छ। बौद्ध परम्पराअनुसार हरेक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान चःह्रे’का दिन यो पर्व मनाइन्छ, जसअन्तर्गत पाँचै दीपंकर बुद्धलाई दिनभरि नगरका विभिन्न स्थान तथा बौद्ध विहारमा घुमाइन्छ।
काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा मनाइने पञ्चदानमध्ये भक्तपुरको पञ्चदान भने आफ्नै मौलिकता बोकेको छ। स्थानीय भाषामा यसलाई ‘पञ्जदान’ वा ‘पञ्जरां’ भनिन्छ, जुन दिन पृथ्वीबाट उत्पादित अन्न तथा फलफूलसहित पाँच प्रकारका वस्तु दान गर्ने चलन रहेको छ।
भक्तपुर नगरपालिका–९ सूर्यमढीकी जमुना कासिछ्वाका अनुसार पञ्चदानको दिन बिहानै टोलको सूर्यमढी डबलीमा दीपंकर बुद्ध ल्याइने भएकाले दान गर्न बस्ने गरिन्छ। दिउँसो खेतमा जानुपर्नेहरू पनि बिहानैे यहाँ आएर दान चढाउने गर्छन्। पञ्चदानको दिन घरघरमा क्वाँटी बनाएर खाने चलन पनि रहेको छ।
स्थानीय अल्बर्ड बज्राचार्यका अनुसार नगरका पाँच फरक-फरक स्थानमा राखिएका दीपंकर बुद्धलाई यस दिन सूर्यमढीमा ल्याइन्छ। प्रशन्नशील महाविहार क्वाठण्डौंका मूल दीपंकर बुद्ध, चतुर्ब्रह्म महाविहार साकोठाका दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरवही पलिखेलका दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंका दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही मिनीबसपार्कका दीपंकर बुद्धलाई सूर्यमढीस्थित डबलीमा राखिन्छ। स्थानीयले आ-आफ्नो क्षमताअनुसार धान, मकै, गहुँ, भटमास, ढिके नुन, घिरौंला, बोडी, काँक्रोलगायत जमिनमा उत्पादित काँचो खाद्यवस्तु उनीहरूलाई चढाउने गर्छन्।
पञ्चदानका दिन बिहानैदेखि शाक्य, बज्राचार्य तथा भिक्षुलाई भिक्षा दिने चलन रहेको छ। भक्तपुर नगरपालिका–१० क्वाठण्डौंका उज्ज्वलचन्द्र बज्राचार्यले ३–४ वर्षको उमेरदेखि नै यस पर्वमा सहभागी हुँदै आएको बताए। आजभोलिका युवा भने पञ्चदान लिन लजाउने गरेकाले पहिलेको तुलनामा सहभागिता घट्दै गएको उनको भनाइ छ। दीपंकर बुद्धसँगै बौद्धमार्गीहरू पिण्डपात्र (गुलुपा) हातमा लिई भिक्षाटनमा सहभागी हुने परम्परा रहेको उनले बताए।
पूजाका सामग्रीमा सूर्यमुखी फूल, धूप, दीप, गन्ध र रससँगै भोजन सामग्रीमा धान, चामल, गहुँ, क्वाँटी, केराउ, मास, पिँडालु, मुलालगायत दान गरिन्छ। पेय पदार्थमा सख्खर पानी (सखत), सिसाफल र अन्य फलफूल तथा औषधिमा हर्रो, अमला, गुलःलगायत नून, तेल र आवश्यक सामग्री समेत दान गरिन्छ। यसैगरी सियो, धागो, डोरी, कुचो, सेतो कपडा, काषाय वस्त्र, आसन, खरीढुंगा, चक र दतिवनजस्ता वस्तु पनि दान गर्ने चलन छ। पूजा नगरको पूर्वमा रहेको आदिपद्म महाविहारबाट सुरु भई पश्चिमस्थित थथुवहीमा गएर सम्पन्न हुने गर्छ।
यस पर्वका क्रममा बालबालिकादेखि वृद्धवृद्धासम्मले भिक्षाग्रहणका लागि लस्करै लागेर नगर परिक्रमा गर्ने प्रचलन छ। गुँलाबाजा वादन पञ्चदानको अर्को प्रमुख विशेषता हो — टौमढीमा बौद्धमार्गीले दान गाथा तथा स्तोत्र वाचनसँगै गुँलाबाजा बजाउने गर्छन्। गुँला धाः बाजासँगै प्वंगा, दाफा भजन र श्रृंगभेरीलगायतका परम्परागत बाजागाजाका समूहले दीपंकर बुद्धको यात्राका क्रममा सांगीतिक प्रस्तुति दिने चलन छ।
बज्राचार्यले आफू बुद्धका अनुयायी भएकाले आर्जन गरेको आयको केही अंश दानका लागि छुट्याई पञ्चदानका दिन दान गर्ने गरेको बताए। पाँचवटा दीपंकर बुद्ध पाँच पाण्डव नभई स्वतन्त्र पाँच मूर्ति नै रहेको स्पष्ट पारे।
यसैबीच भक्तपुर नगरपालिका–२ तेखाचोस्थित जेतवर्ग महाविहार आरती गुथि नेवा संघले पञ्चदानमा चढाइने सामग्री छुट्टाछुट्टै प्याकिङ गरी व्यवस्थित रूपमा चढाउन श्रद्धालुलाई अनुरोध गरेको छ।