अमेरिका–इरान तनाव चर्किँदा तेल ट्याङ्करमाथि आक्रमण, कच्चा तेलको मूल्य १०० डलर पुग्यो
काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किँदै जाँदा खाडी क्षेत्रमा तेल ट्याङ्कर तथा अन्य पानीजहाजमाथि आक्रमणका घटना बढेका छन्। यससँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १०० डलर पुगेको छ।
अमेरिकी सेनाका अनुसार इरानी रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकी नौसैनिक युद्धपोतलाई ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना बनाएपछि अमेरिकी सेनाले पाँचवटा इरानी कच्चा तेल बोक्ने ट्याङ्कर नष्ट गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो एक सातामा आईआरजीसीलाई आर्थिक सहयोग गर्ने भनिएको ‘स्याडो नेटवर्क’सँग सम्बन्धित १० वटा इरानी तेल ट्याङ्कर नष्ट गरिएको दाबी गरेको छ।
यता, आईआरजीसीले आफ्ना सेनाले दुई अमेरिकी पानीजहाज, आठ तेल ट्याङ्कर तथा ‘निषेधित र असुरक्षित क्षेत्र’ पार गर्न खोजेका थप १० वटा पानीजहाजलाई निशाना बनाएको दाबी गरेको छ। इरानले अमेरिकी आक्रमणको प्रतिरक्षामा आफूले जवाफी कारबाही गरेको जनाएको छ।
आईआरजीसीले अमेरिकी सैनिक तैनाथ रहेको जोर्डनस्थित सैन्य आधारलाई समेत क्षेप्यास्त्रबाट निशाना बनाएको दाबी गरेको छ। जोर्डनले भने इरानबाट प्रहार गरिएका १८ वटा ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट गरेको जनाएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी नौसैनिक सम्पत्तिमाथि आक्रमणको प्रयासको जवाफमा इरानी तेल ट्याङ्करमाथिको कारबाही जारी रहने चेतावनी दिएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले इरानले दुई अमेरिकी नौसैनिक विध्वंसक पानीजहाजमाथि आक्रमण गरेको दाबी अस्वीकार गर्दै कुनै पनि अमेरिकी युद्धपोतमा क्षति नपुगेको जनाएको छ।
इरानी विदेश मन्त्रालयले भने अमेरिकी सेनाले खाडी र ओमानको समुद्रमा व्यावसायिक पानीजहाजमाथि गरेको आक्रमणलाई संयुक्त राष्ट्रसंघको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको आरोप लगाएको छ। मन्त्रालयले यस्ता गतिविधिले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको भन्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र महासचिवलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।
यसैबीच, कतारले जोर्डनमाथि इरानले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्दै त्यसलाई जोर्डनको सार्वभौमिकताको उल्लङ्घन र अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ।
होर्मुजमा बढ्दो जोखिम
अमेरिका र इरानबीचको संघर्ष पछिल्लो समय समुद्री क्षेत्रमा समेत केन्द्रित हुन थालेपछि होर्मुज जलडमरूमध्यमा जोखिम बढेको छ। विश्वको महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिने यस क्षेत्रमा लाखौँ ब्यारेल कच्चा तेल तथा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरू आवतजावत गर्छन्।
विशेषज्ञहरूले ट्याङ्करमाथि सफल आक्रमण भएमा आगलागी, जहाज डुब्ने वा ठूलो मात्रामा तेल चुहावट हुनसक्ने चेतावनी दिएका छन्। यस्तो तेल चुहावटले कोरल रिफ, म्यान्ग्रोभ, समुद्री घाँसे मैदान तथा तटीय क्षेत्रमा दीर्घकालीन वातावरणीय क्षति पुर्याउन सक्ने उनीहरूको भनाइ छ।
समुद्री प्रदूषणले माछा, कोरल, प्लाङ्कटनलगायतका समुद्री जीवमा प्रत्यक्ष असर पार्ने र विशेषगरी माछाका अण्डा तथा लार्भा बढी जोखिममा पर्ने विज्ञहरूको चेतावनी छ।
