भोटेकोशी बाढीमा ललितपुरबाट १५७ जना सम्पर्कविहीन
ललितपुर, २४ भदौ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परी ललितपुरका १५७ जना अझै सम्पर्कविहीन रहेका छन्। उनीहरूको खोजी कार्य निरन्तर जारी छ।
सम्पर्कविहीन भएकामध्ये हालसम्म ९ जना भेटिएका छन्, जसमा ३ पुरुष, २ महिला र ४ बालबालिका रहेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार हाल ११५ पुरुष, ३९ महिला र ३ बालकको खोजी कार्य भइरहेको छ।
बेपत्ताहरूमध्ये अन्य जिल्लाको स्थायी ठेगाना भई ललितपुरमै बसोबास गर्ने ९९ जना छन्, जसमा ८१ पुरुष, १७ महिला र १ बालक समावेश छन्। यसैगरी ललितपुरमा बसोबास गर्ने ४१ विदेशी नागरिक पनि बाढीमा परी हराएका छन्, जसमध्ये २० महिला, १९ पुरुष र २ बालक रहेका छन्। विदेशी बेपत्तामध्ये युक्रेनका १३, अष्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच–पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना समावेश छन्।
बाढीमा परी घाइते भएका २४ जनामध्ये (२० पुरुष, ३ महिला र १ बालिका) २२ जना उपचारपछि घर फर्किसकेका छन्। हाल एक पुरुषको ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा र एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार जारी रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।
यसैगरी बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जना (एक महिला र एक पुरुष) को शव सम्बन्धित परिवारलाई बुझाइसकिएको प्रजिअ घिमिरेले बताए।