भोटेकोशी बाढी : पाँच जिल्लाका ६४ हजारभन्दा बढी जनसंख्या प्रभावित

काठमाडौं, २५ भदौ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान आएको भीषण बाढीले पाँच जिल्लाका १५ स्थानीय तहमा ठूलो संख्यामा घरधुरी र जनसंख्या प्रभावित बनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकका आधारमा तयार पारेको प्रतिवेदनअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावित क्षेत्रमा जम्मा ५१,०९९ घरधुरी र २,०४,६०१ जनसंख्या रहेका छन्, जसमध्ये बाढीले प्रत्यक्ष रूपमा १६,११० घरधुरीका ६४,३३५ जनालाई प्रभावित पारेको छ। प्रतिवेदनका अनुसार प्रभावित जनसंख्यामध्ये ८,३१७ घरधुरीका ३२,९६३ जना सोझै बाढीबाट प्रभावित भएका छन्, जसमा १६,७६९ पुरुष र १६,१९२ महिला रहेका छन्।

जिल्लागत विवरणमा रसुवाका चार स्थानीय तहका १६ वडा प्रभावित छन्। गोसाईंकुण्ड गाउँपालिका–१, २, ३, ५ र ६ मा क्षतिग्रस्त १,३०३ घर/भवनका १,४४४ घरधुरीका ५,७४३ जना प्रभावित छन्। कालिका गाउँपालिका–१ मा क्षतिग्रस्त ११४ भवनका ११९ घरधुरीका ४९१ जना, आमाछोदिङमो गाउँपालिका–१, २, ४ र ५ मा ७६ भवनका ७७ घरधुरीका ३१३ जना तथा उत्तरगया गाउँपालिका–१, २, ३, ४ र ५ मा ६६५ भवनका ६९६ घरधुरीका २,७१९ जना प्रभावित रहेका छन्।

नुवाकोटमा चार स्थानीय तहका २१ वडा प्रभावित छन्। बेलकोटगढी नगरपालिका–५, ७ र ८ मा क्षतिग्रस्त १,०८३ भवनका १,१२७ घरधुरीका ४,४८३ जना, विदुर नगरपालिकाका ११ वडामा ५,२२८ भवनका ५,९२८ घरधुरीका २३,२३० जना, किस्पाङ गाउँपालिका–५ मा ९०६ भवनका ९३९ घरधुरीका ३,३८२ जना र तारकेश्वर गाउँपालिका–२ र ४ मा १७८ भवनका १८५ घरधुरीका ६६५ जना प्रभावित रहेका छन्।

धादिङमा चार स्थानीय तहका १९ वडा प्रभावित छन्। बेनीघाट रोराङ गाउँपालिका–३, ५, ७, ९ र १० मा अनुमानित १,७२३ भवन क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा पर्छन्, जहाँ १,९०५ घरधुरीका ८,०६८ जना प्रभावित छन्। गजुरी गाउँपालिका–१, २, ५ र ६ मा ३५३ भवन, ३९६ घरधुरी र १,५८९ जना, गल्छी गाउँपालिका–१, २, ४, ६ र ८ मा ७६६ भवन, ८४० घरधुरी र ३,३६३ जना तथा सिद्धलेक गाउँपालिका–३, ४, ६ र ७ मा अनुमानित ७५८ भवन, ७८१ घरधुरी र ३,१७० जना प्रभावित रहेका छन्।

गोरखाका दुई स्थानीय तहका १० वडा प्रभावित छन्। गण्डकी गाउँपालिका–१, २, ६, ७ र ८ मा ५९३ भवन, ६१७ घरधुरी र २,४७८ जना तथा सहिद लखन गाउँपालिका–३ र ४ मा १३८ भवन, १४६ घरधुरी र ५५१ जना प्रभावित छन्।

चितवनमा इच्छाकामना गाउँपालिका–३, ४, ५ र ६ प्रभावित भएका छन्, जहाँ करिडोर तथा बफर क्षेत्रभित्र अनुमानित ७९६ भवन पर्दछन्। यसमा ९१० घरधुरीका ४,०९० जना प्रभावित रहेका छन्।