ओसासुनालाई हराउँदै रियल मेड्रिड फेरि शीर्ष स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ओसासुनालाई हराएको छ र, फेरि लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
रियल मड्रिडले ओसासुनालाई ३—१ गोल अन्तरले हराएको हो । यसअघि बार्सिलोनाले आलाभेसलाई ६—० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले २४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोलबाट अग्रता लिएको थियो । तर, ३३ औं मिनेटमा घरेलु टोलीका लिमोनेसले बराबरी गोल फर्काए र पहिलो हाफ १—१ मा सकियो ।
दोस्रो हाफमा रियलले दुई गोल थप्यो । ६२ औं मिनेटमा इस्कोले गोल गरे भने खेलको अन्तिम मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै रियल मड्रिडलाई ३—१ को जित दिलाए ।
जितपछि २० खेलबाट ४९ अंक जोडेको रियल मड्रिड लिगको शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाको २२ खेलबाट ४८ अंक भएको छ ।