एभरेष्ट बैंकको ऋणपत्र साउन १८ गतेदेखि
काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले साउन १८ गतेदेखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । उक्त ऋणपत्रको अवधि ६ वर्ष रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये ४० प्रतिशत सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।