कुमार नगरकोटीको नियुक्तिलाई लिएर एमाले सांसदले संसदमा उठाउनुभयो प्रश्न

काठमाडौं, २ भदौ । नेकपा (एमाले) की सांसद भूमिका लिम्बू सुब्बाले सरकारले हालै प्रज्ञा प्रतिष्ठान नेपाल, ललितकला प्रज्ञा प्रतिष्ठान नेपाल, प्रज्ञा प्रतिष्ठान नेपाल लगायतमा गरेको नियुक्तिका विषयमा प्रश्न उठाउनु भएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले नियुक्त भएका व्यक्तिहरुको योग्यता अर्थात उनीहरु योग्य छन् कि छैनन् भन्ने नभएर योग्य ठहर्याउने प्रक्रिया के हो भन्ने रहेको उल्लेख गर्नुभयो ।

उहाँले साहित्यकार कुमार नगरकोटीलाई प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त गरिएको प्रति बढी प्रश्न उठाउनुभयो । महिलाप्रतिको गलत दृष्टिकोण भएको व्यक्तिलाई कुलपति बनाइएको भन्दै उहाँले विरोध गर्नुभयो ।

‘सरकारले महिलाप्रतिको सोच, दृष्टीकोण र सार्वजनिक भाषाशैलीमाथि नैतिक प्रश्न उठेको व्यक्तिलाई कुलपति बनाउनु आफैंमा गम्भीर नैतिक प्रश्न हो । सदनमा प्रतिनिधित्व गर्ने ३५ प्रतिशत महिला माननीय र आम नेपाली महिलाप्रतिको अपमान हो,’ नगरकोटीको नियुक्तिलाई ईंगित गर्दै उहाँले भन्नुभयो, ‘सार्वजनिक पदमा पुग्ने व्यक्तिको महिलाप्रतिको दृष्टिकोण र नैतिक आचरणको मूल्यांकन हुनु पर्छ कि पर्दैन रु कुलपति बन्न प्राज्ञिक मात्र भएर पुग्ने कि नैतिक आचरण पनि सुद्द हुनु पर्छ ?’

उहाँले तीन महिना अघि दरखास्त आह्वान गरिएको र सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नामहरु संकलन गरेको भन्दै क–कसले आवेदन दिए भन्ने कुराको पारदर्शिता नभएको उल्लेख गर्नुभयो । ‘एकैचोटी सरकारले मनोनीत र नियुक्ति भएको पदाधिकारी र सदस्यहरुको सूची पर्यटन मन्त्रालयको वेबसाइट र संचार माध्यमहरु मार्फत सार्वजनिक गराइयो,’ उहाँले भन्नुभयो, ‘हिजोको नियुक्ति राजनीतिक नियुक्ति थियो भन्दै अघिल्लो सरकारलाई दोष दिएर कार्यकाल बाँकी रहेकाहरुलाई अध्यादेश ल्याएर हटाउने अनि आफूले गरेको नियुक्तिलाई मेरिटको नाम दिने ?’