कोशीका मुख्यमन्त्री कार्कीले भदौ ५ मा विश्वासको मत लिने

विराटनगर, २ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८३ भदौ ५ गते शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेकपा (एमाले) का सांसद रेवतिरमण भण्डारीले भदौ ५ गते शुक्रबार विश्वासको मत लिने गरी तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले नेपाली कांग्रेसले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिए पनि नेकपा सरकारमा सहभागी भइसकेकाले विश्वासको मत लिन लागेका बताउनुभयो । ‘नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छैन, तर नेकपा सरकारमा सहभागी भइसकेको अवस्था भएकाले मुख्यमन्त्रीज्यूले नैतिकताका आधारमा विश्वासको मत लिनुहुनेछ,’ सांसद भण्डारीले भन्नुभयो ।

भदौ १ गते सोमबार नयाँ मन्त्रीहरूको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि चाँडै विश्वासको मत लिने बताउनुभएको थियो । सत्ता साझेदार दल नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मतसम्बन्धी विषयमा आजै छलफल हुने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्की संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो। २०८३ साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेकपा सोमबारदेखि कोशी प्रदेश सरकारमा सहभागी भइसकेको छ।