रास्वपाको सरकारसँग रास्वपाकै सांसद असन्तुष्ट, कुन सांसदको के प्रतिक्रिया ?

काठमाडौं, २ भदौ । पछिल्लो समय संसदमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आफ्नै दलको नेतृत्वको सरकारको विरोध गर्न थालेका छन् । आजको संसदमा मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा दिएको जानकारी र बजारको वास्तविक अवस्था फरक रहेको बताउनुभयो ।
सांसद आचार्यले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा ग्यासको कुनै समस्या नरहेको बताए पनि उपभोक्ताले अझै ग्यासको अभाव र सास्ती भोगिरहेको उल्लेख गर्नुभयो । ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो, तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन्,’ सांसद आचार्यले भन्नुभयो ।

सांसद आचार्यले ग्यास आपूर्तिलाई सहज बनाउन सरकारले लिएको योजना स्पष्ट पार्न माग गर्दै खाना पकाउने ग्यासको विकल्प तथा विद्युतीय ऊर्जाको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा पनि सरकारको धारणा माग गर्नुभयो । ‘ग्यास कसरी उपलब्ध गराउने ? यसको विकल्प के हो ? विद्युतीय सामग्रीको प्रयोगलाई कसरी प्रभावकारी बनाउने भन्ने लगायतका विषयमा सरकारको जवाफ चाहियो,’ सांसद आचार्यले भन्नुभयो । आचार्यले विद्युतमा लगाइएको करमा पुनर्विचार गर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै वैकल्पिक ऊर्जाका विषयहरूलाई प्रवर्द्धन गर्नुपर्ने माग गर्नुभयो ।

सत्तारुढ दल रास्वपाकै सांसद पारसमणि गेलालले पनि सरकारको आलोचना गर्नुभएको थियो । हिजो प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद गेलालले मन्त्रीहरूलाई देश घुम्न नहिँड्न आग्रह गर्नुभएको थियो ।

सांसद गेलालले जनताका आधारभूत समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन्। उनले बिदामा घुम्न गएजस्तो गरी जिल्ला(जिल्ला पुग्नुभन्दा मन्त्रालयमै बसेर नीति निर्माण, निर्णय प्रक्रिया र कर्मचारीको मनोबल उच्च बनाउने काममा ध्यान दिन आग्रह गरे। ‘माननीय मन्त्रीज्यूहरूलाई देश घुम्ने रहर हो कि, समस्या समाधान गर्ने हुटहुटी ?, ’ सांसद गेलालले भन्नुभएको थियो ‘बिदामा घुम्न जानुभन्दा मन्त्रालयमा बसेर नीति बनाउनुस्, निर्णय गर्नुस्, कर्मचारीको मनोबल उच्च बनाउनुस्।’

सांसद गेलालले देशका १६५ वटै निर्वाचन क्षेत्रका समस्या र तिनका समाधानका उपाय सम्बन्धित क्षेत्रका सांसदहरूले दिन सक्ने भन्दै त्यसका लागि जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक नरहेको भन्दै देशका १६५ निर्वाचन क्षेत्रका समस्या र समाधानका उपायहरू समेत त्यस क्षेत्रका सांसदहरूले दिन सक्ने पनि दाबी गर्नुभएको थियो । ‘जम्बो सल्लाहकार राखेर राज्यको ढुकुटी रित्याउन आवश्यक छैन,’ उहाँले भन्नुभएको थियो, ‘अहिले पनि जनताले ग्यास, मल, सञ्चार सेवा, विद्युत् तथा आधारभूत स्वास्थ्य सेवाजस्ता अत्यावश्यक सुविधाको अभाव झेलिरहेका छन् । आज जनता ग्यास, मल, सञ्चार, सेवा, विद्युत् र आधारभूत स्वास्थ्य सेवाका लागि तड्पिरहेका छन्। मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकोप्टर उपलब्ध हुन्छ, तर जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन हुँदैन, अस्पतालमा डाक्टर हुँदैनन् । मन्त्रीहरूको प्रचारमुखी गतिविधि र भिडियो सार्वजनिक गर्दैमा जनता खुसी हुँदैनन् ।’