राजनीतिक भेटघाटमा ओली सक्रिय,नेपाली मुस्लिम समुदायका अगुवासँग भेटवार्ता
काठमाडौं, २ भदौ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय राजनीतिक गतिविधिमा निकै सक्रिय बन्न थाल्नु भएको छ । केही दिन अघि गृहजिल्ला झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका उहाँ अहिले राजधानी फर्किनु भएको छ । राजधानी फर्किएपछि पनि उहाँले राजनीतिक भेटघाटलाई तिव्र दिन थाल्नु भएको छ । उहााले आज नेपाली मुस्लिम समुदायका अगुवाबीच भक्तपुरको गुन्डुस्थित निवासमा भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा मुस्लिम समुदायका प्रतिनिधिहरूले शिक्षा, रोजगारी, सामाजिक सद्भाव, राज्यका विभिन्न निकायमा सहभागिता तथा समुदायका समसामयिक समस्यासम्बन्धी विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।
सो अवसरमा अध्यक्ष ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएकाले सबै समुदायको अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।