सेतो मच्छिन्द्रनाथको रथ लगन टोलमा पुर्याईयो

 

काठमाडौँ, २४ चैत । सेतो मच्छिन्द्रनाथको रथलाई आज स्थानीय लगन टोलमा पुर्याईएको छ ।

मङ्गलबारदेखि सुरु भएको सो रथ यात्रा आज हनुमानढोकाबाट सांस्कृतिक बाजागाजासहित तानेर त्यहाँ लगिएको हो ।

रथयात्रा व्यवस्थापन समितिले स्थानीय जैशीदेवल, ज्यावाल हुँदै लगन टोल पु¥याइएको रथलाई पूजा गर्न स्थानीयवासी तथा अन्य सर्वसाधारणको भीड लागेको छ ।

व्यवस्थापन समितिका सदस्य विनोद तुलाधरका अनुसार विभिन्न धार्मिक गतिविधि तथा पूजा गरेपछि आज लगन टोलस्थित माताको मन्दिरमा रथलाई परिक्रमा गराइनेछ ।

मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’का रुपमा आस्था प्रकट गर्दछन् ।

काठमाडौँ उपत्यकाका शुभ साइतका काम सेतो मच्छिन्द्रनाथका पुजारीलाई सोधेर गरिने गरेको बताइएको छ । ती पुजारीले मच्छिन्द्रनाथका नियमित पूजामा आधारित भई तिथि तय गर्ने परम्परा थियो ।

सहकाल र वर्षासँग सम्बन्धित मच्छिन्द्रनाथलाई करुणाका प्रतीकका रुपमा समेत मानिँदै आएको छ । काठमाडौँ उपत्यकामा रहेका विभिन्न मच्छिन्द्रनाथमध्ये सेतो मच्छिन्द्रनाथको विशेष महत्व छ । रासस