ज्यापु दिवसको उपलक्ष्यमा सुकुन्दा र्याली

काठमाडौं, १८ मंसिर । १९ औं ज्यापु दिवसको प्रचार प्रसार गर्ने उद्देश्यले शनिवार काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलमा सुकुन्दा र्याली आयोजना गरियो ।

१९ औं ज्यापु दिवस समारोह समिति–११४३ द्वारा आयोजित उक्त सुकुन्दा र्याली काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले उद्घाटन गर्नुभएको थियो ।

 

हरेक वर्ष योमरी पूर्णिमाका दिन ज्यापु दिवस मनाउने गरिन्छ । काठमाडौंका ६४ वटा परम्परागत ज्यापु टोलहरूले पालैपालो ज्यापु दिवस आयोजना गर्ने चलन रहेको छ । यो वर्ष कामपा २१ वडास्थित गोफल टोलबाट ज्यापु दिवस आयोजना हुँदैछ ।

यो वर्ष मंसिर २२ गते योमरी पूर्णिमाका दिन ज्यापु दिवस मनाइँदैछ । उक्त दिन गोफल टोलबाट ठूलो र्याली निकाली नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ । नगर परिक्रमा पछि बसन्तपुरमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मूल समारोह आयोजना गरिनेछ ।

हिजो आयोजित सुकुन्दा र्यालीमा काठमाडौं महानगरपालिका पूर्व मेयर विद्यासुन्दर शाक्य, ज्यापु संस्कृति विकास कोषका मंगलकृष्ण डंगोल लगायत समाजसेवा, भाषासेवा आदि क्षेत्रका कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।