राजस्वका कर्मचारी हुँ भन्दै बसपार्कका होटलबाट रकम असुली, ८ जना पक्राउ

काठमाडौं, २५मंसिर । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हुँ भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल र पसलबाट रकम असुल गर्ने ८ जना पक्राउ पक्राउ परेका छन् ।

आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

उनीहरुले काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको हाे ।

पक्राउ पर्नेमा नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेकाे प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाएर, परिचय भिरेर ठगी गर्ने गरेकाे प्रहरीले जनाएको छ ।

स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि उनीहरु पक्राउ परेको हो । पक्राउ परेका राजीव विष्टको डेराबाट आन्तरिक राजस्व कार्यालयको नक्कली स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । त्यस्तै डेविड धामीको कोठाबाट पनि आन्तरिक राजस्व कार्यालयको नक्कली रसिद, लेटरप्याड, परिचयपत्र र परिचयपत्र झुण्याउने डोरी बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।