खराब मौसमका कारण हेलिकोप्टरको आकस्मिक अवतरण
लमजुङ । सिम्रिक एयरको हेलिकोप्टर मौसममा आएको खराबीले लमजुङको बेंसीसहरमा ‘आकस्मिक’अवतरण गरिएको छ । सिम्रिक एअरको कलसाइनको हेलिकप्टर बेंसीसहरको दनाइँफाँटस्थित खेतमा आज बिहान अवतरण गरिएको हो । हेलिकप्टर चालक सुरेन्द्र पौडेलका अनुसार मनाङको भीमथाङमा बिरामी विदेशी पर्यटकको उद्धारका लागि उक्त हेलिकप्टर बिहान ९ बजे काठमाडौंबाट उडाइएको थियो । उनका अनुसार बिरामी पर्यटक र उनका सहयोगी नेपाली दुईजना गरी ३ जना भीमथाङमा रोकिएका छन् । उनीहरु भीमथाङदेखि लार्केपास हुँदै गोरखातर्फ जाने क्रममा रहेको बुझिएको उनले बताए । ‘हाइ अल्टिच्युट’का कारण बिरामी परेका पर्यटकलाई लिन जाने क्रममा लमजुङको आकाशमा आएपछि मौसममा खराब देखिएकोले तत्काल अवतरण गरिएको उनले बताए ।
उनका अनुसार काठमाडौंबाट उडेको करिब २५ मिनेटको समयमा हेलिकप्टर अवतरण गरिएको हो । ‘काठमाडौंबाट उड्दा मौसम राम्रो थियो । माथि मनाङ पनि राम्रो नै भनिरहेको थियो । एक्कासी लमजुङको आकाशमा आएपछि मौसम बिग्रिएको देखियो’उनले भने ।
बैशाख ६ गते ।