शेयर बजारमा नेप्से स्थिर जस्तै, कारोबार रकम १ अर्ब नाघ्यो

काठमाडाैं, ६ पुस । बिहीबार शेयर बजारमा नेप्से स्थिर जस्तै भएकाे छ । यस दिन नेप्से परिसूचक ०.०१ अंक घटेर १८६७.२१ विन्दुमा झरेको छ।

साताको अन्तिम कारोबार दिन सेन्सेटिभ इण्डेक्स भने बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेर ३६७.०६ विन्दुमा पुगेको छ। बिहीबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ।

अघिल्लो कारोबार दिन ८६ करोडको शेयर कारोबार भएकोमा यस दिन २४७ स्टकको २३ हजार पटकको कारोबारमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको ३१ लाख ११ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कम्पनीले प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। त्यसैगरी, यस दिन एनआईसी एशिया र नबिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको करिब ५ करोडको शेयर किनबेच भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन श्रृजनशील लघुवित्त र धौलागिरी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन आदर्श लघुवित्त र कालिका पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूह सकारात्मक रहेका छ भने बाँकी १० उपसमूहको नकारात्मक रहेका छन्।