जेठमा उद्यमशीलता सम्मेलन हुने

काठमाडौं । विशेष गरी युवा वर्गलाई लक्षित गरी उद्यमशीलता विकास गर्न राष्ट्रिय अभियान संचालन गर्ने उद्धेश्यले उद्योग मन्त्रालयले आगामी जेठ २४ र २५ गते काठमाडौंमा उद्यमशीलता सम्वन्धि सम्मेलन स्टाट अप समिट आयोजना गर्ने भएको छ । देशभरका ७५ जिल्लाबाट ३०० जना युवाको सहभागिता रहेने सो सम्मेलनमा स्रोत व्यक्तिका रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सफल य्ुवा उद्यमीहकै संलग्नता रहने मन्त्रालयले जनाएको छ । विदेशबाट आउने श्रोत व्यक्तिहरुले ती देशहरुमा रहेको उद्यमशीलता सम्वन्धि अभ्यासका वारेमा आ—आफ्नो अनुभव साट्नुका साथै नेपालमा उद्यमशीलताको सम्भाव्यताका वारेमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । विश्व अर्थतन्त्रमा उद्यमशीलताको क्षेत्रमा देखिएको प्रवृत्तिलाई आत्मसाथ गर्दै सँगसँगै अगाडी बढ्न नेपालमा पहिलो पटक राष्ट्रिय यस्तो सम्मेलनको आयोजना गर्न लागिएको हो ।
सम्मेलनको मुख्य उद्धेश्यमा उद्यमशीलताको विकासमा विभिन्न सरकारी निकायहरुलाई संलग्न गराउने, उद्यमशीलताको लागि आवश्यक वातावरण बनाउने, उद्यमशीलता विकासमा संलग्न सबै सरोकारवालाहरुलाई एउटै मञ्चमा समेट्ने, देशभरी उद्यमशीलता विकासमा भएको प्रगति सम्वन्धि पूर्ण जानकारी, उपलब्ध सेवा र अवसरहरु प्रस्तुत गर्ने, राज्यको तर्फबाट रहेको उद्यमशीलता सम्वन्धि नीतिगत धारणामा स्पष्टता ल्याउने लगायत छन् ।
कुनै पनि राष्ट्रको आर्थिक प्रगतिका लागि उद्यमशीलता अपरिहार्य रहेको छ । अवको प्रतिष्पर्धी विश्वमा हामीले अपनाउने उद्यमशीलताको सोचमा पनि नयाँ आयाम र अवधारणा आवश्यक छ त्यसैले यो सम्मेलन नेपाली युवा उद्यमीहरुका लागि निकै महत्वपूर्ण हुनेछ सरकारी अपेक्षा छ छ । उद्योग मन्त्रालयले अहिले युवा उद्यमशीलताको विकासका लागि स्टाट अप कमिटि बनाएर कार्यक्रमहरु अगाडी बढाईरहेको छ । नेपाल स्टाट अप समिट २०१७ को मूल नारा समृद्धिको रहर उद्यमशीलताको नयाँ प्रहर भन्ने रहेको छ । उद्योग मन्त्रालयको आयोजनामा हुन लागेको सो सम्मेलानमा नेपाल उद्यमी मञ्च, नेपाल उद्योग वाणिज्य महासैघ, नेपाल उद्योग परिसंघ, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासँघ सहयोगी संस्थाका रुपमा रहने छन् ।
वैशाख १० गते ।