काठमाडौँलाई ‘इको-सिटी’ बनाउने कार्यवाहक प्रमुख डंगोलको सोच : वातावरण इञ्जिनियरका रुपमा पार्कहरुमा मौरीको घार
काठमाडौँ, जेठ ५ । काठमाडौँ महानगरपालिकालाई वातावरणीय रूपमा दिगो र प्रकृतिमैत्री शहर बनाउने कार्यवाहक प्रमुख सुनिता डंगोलको योजनाले मूर्त रूप लिन थालेको छ। शहरको पारिस्थितिकीय प्रणालीलाई सन्तुलनमा राख्न र जैविक विविधताको जगेर्ना गर्न डंगोलको विशेष पहलमा महानगरका ८ वटा प्रमुख उद्यानहरूमा ‘पारिस्थितिकीय इञ्जिनियर’ का रूपमा मौरीका घारहरू राखिएको छ ।
शहरमा हराउँदै गएका रैथाने प्रजातिका मौरीलाई पुनःस्थापन गरी प्राकृतिक परागसेचन प्रक्रियालाई सक्रिय बनाउन कार्यवाहक प्रमुख डंगोलले यो नवीन कार्यक्रम अघि सार्नुभएको हो।
सुनिता डंगोलको नेतृत्व : प्रविधि र प्रकृतिको फ्युजन
कार्यवाहक प्रमुख डंगोलले पदभार ग्रहण गरेदेखि नै काठमाडौँको हरियाली र वातावरणीय सुधारलाई प्राथमिकतामा राख्दै आउनुभएको छ । “हामीले शहरलाई केवल कङ्क्रिटको संरचना मात्र होइन, एउटा जीवन्त पारिस्थितिकीय प्रणालीका रूपमा विकास गर्नुपर्छ,” भन्ने उहाँको दृढ सोच अनुरुप यो योजना कार्यान्वयनमा आएको हो ।
उहाँको कार्यक्रम कार्यान्वयन गर्दै महानगरले करिब ९ लाख रुपैयाँको लगानीमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घारमार्फत पार्कहरूमा व्यवस्थापन गरेको छ । यसले शहरको सौन्दर्य मात्र बढाउने छैन, बरु बिरुवाहरूको प्रजनन र वंश रक्षामा समेत क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास लिइएको छ ।
८ स्थानमा नमूना कार्यक्रमको सुरुवात
उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क) मा २ घार, रानीवारी सामुदायिक वन (वडा ३) मा ४ घार, वालाजु बाइसधारा उद्यान (वडा १६) मा ५ घार, गुरु नानक पार्क (वडा १६) मा २ घार, शंखपार्क (वडा ४) मा २ घार, लाखे पोखरी पार्क (वडा ६) मा २ घार, भुवनेश्वरी पार्क (वडा १४) मा ४ घार, मदन भण्डारी पार्क (वडा ३२) मा २ घार राखिएको छ ।
मौरीलाई किन रोजिन् सुनिता डंगोलले
वातावरण संरक्षणका दृष्टिले मौरीलाई ‘पारिस्थितिकीय इञ्जिनियर’ मानिन्छ। कार्यवाहक प्रमुख डंगोलले मौरीलाई छनोट गर्नुका पछाडि मुख्य दुई कारण छन् । एउटा परागसेचन र खाद्य सुरक्षा हो भने अर्को वातावरणीय स्वास्थ्यको सूचक हो । ८० प्रतिशतभन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइ खाद्य बाली मौरीको परागसेचनमा निर्भर हुन्छन् । पार्कहरूमा मौरीको उपस्थितिले शहरका रुख र फूलहरूमा प्राकृतिक रूपमै फल र बीज उत्पादन गर्न मद्दत पुग्छ । मौरी निकै संवेदनशील जीव हुन् । यदि शहरमा प्रदूषण बढ्यो वा विषादीको प्रयोग बढी भयो भने मौरीको संख्या घट्छ। त्यसैले, मौरीको अवस्था हेरेर काठमाडौँको प्रदूषण स्तर मापन गर्ने डंगोलको योजना छ।
विषादीमुक्त शहरको मार्गचित्र
यस अभियानलाई सफल बनाउन कार्यवाहक प्रमुख डंगोलले पार्कहरूमा रासायनिक विषादीको प्रयोगमा पूर्ण रोक लगाउने र प्राकृतिक मल तथा जैविक उपचार विधिलाई प्रोत्साहन गर्ने नीति लिनुभएको छ। पार्कहरूमा मौरीको सुरक्षाका लागि फलामे बारको व्यवस्था गरिएको छ र रैथाने बिरुवा रोप्ने कार्यलाई तीव्रता दिइएको छ।
आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार, एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी रहनेछन्। कार्यवाहक प्रमुखको यो पहलले शहरका चराचुरुङ्गी र अन्य जीवका लागि समेत अनुकूल वातावरण निर्माण गर्नेछ।
काठमाडौँ महानगरको यो कदमले आधुनिक शहरमा पनि प्रकृतिसँग मिलेर बस्न सकिन्छ भन्ने उदाहरण पेश गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको यो दूरदर्शी सोचले आगामी दिनमा काठमाडौँलाई दक्षिण एशियाकै एउटा नमूना ‘हरित र सन्तुलित शहर’ का रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।