प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकियो, के–के विषयमा भयो छलफल ?

काठमाडौं, २८ चैत । बालुवाटारस्थित सभामुख देवराज घिमिरे निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । विषय र प्रक्रियामा पुनः छलफल हुनेछ ।

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन नेताहरु सहमत हुनुभएको सभामुखको सचिवालयले जानकारी दिएको छ । अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरवारमा बस्नेछ ।

बालुवाटारस्थित सभामुख देवराज घिमिरे निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुन्थ्यो ।

यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी हुनुहुन्थ्यो । यसैगरी महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहनुभएको थियो ।