रास्वपा सभापति लामिछाने भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौँ, जेठ २२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कनुभएको छ ।
भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनको निमन्त्रणामा नयाँ दिल्ली जानुभएका सभापति लामिछानेले आफ्नो भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय राजनीतिक भेटवार्ताहरू सम्पन्न गर्नुभएको छ । स्वदेश फर्कने क्रममा उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भाजपाको विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेले बिदाइ गर्नुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस. जयशङ्कर, गृहमन्त्री अमित शाह र भाजपा नेता नवीनसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । ती भेटका अवसरमा नेपाल–भारत द्विपक्षीय सम्बन्धको सुदृढीकरण, आपसी हित र साझा चासोका विविध विषयमा गहन छलफल भएको बताइएको छ ।
सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल गत सोमबार नयाँ दिल्ली प्रस्थान गरेको थियो । उक्त प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री एवं सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो ।