मेलम्चीमा तीन पालिका जोड्ने ‘बेलिब्रिज’ जडान हुने
सिन्धुपाल्चोक, २४ जेठ । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएका छन् ।
मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीय खुसी भएका हुन् ।
वर्षायाममा यहाँका नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङले आग्रह गर्नुभयो ।
महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिनुभयो ।
सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।
मेलम्ची खोलामा बेलिब्रिज निर्माण गर्नका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रक्षा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले अध्ययन सर्वेक्षण गरेको हो ।
विसं २०७८ असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरुले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा ह्युमपाइप राखेर सडक सञ्चालन गर्ने गरिएको भए पनि बर्खा लागेसँगै समस्या हुने गरेको छ ।