कञ्चनपुरकाे कृष्णपुरका ६५ जनालाई जग्गाधनी पुर्जा वितरण

कञ्चनपुर, १७ असार । कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं ७ का ६५ जनालाई शनिबार जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।

नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग कञ्चनपुरले विगतका आयोग, समिति कार्यदलले बाँकी काम सम्पन्न गर्ने कार्यविधि, २०७८ बमोजिम तयार गरिएका जग्गाधनी पुर्जा वितरण गरिएका हुन् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीको उपस्थितिमा जग्गाधनी पुर्जा वितरणकार्य गरिएको नगरप्रमुख हेमराज ओझाले बताउनुभयो ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा तयार गर्ने कार्य भइरहेको जानकारी दिँदै उहाँले राजस्व निकै बढी भएकाले पुर्जा लिन सक्ने अवस्था नरहेकाले पुनःविचार गर्न मन्त्री चौधरीलाई आग्रह गर्नुभयो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री चौधरीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीका लागि जग्गाधनी पुर्जा उपलब्ध गराउँदा लाग्ने राजस्व बढी भएको जनगुनासो आएकाले त्यसलाई जनभावनाअनुसार घटाइने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *