तनहुँकाे व्यासमा घर नक्सा निःशुल्क सेवा
तनहुँ, १५ साउन । तनहुँकाे व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ ।
उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निःशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरिहेको नगरपालिकाले जनाएको छ ।
नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इञ्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो ।
नागरिकलाई पक्की घर बनाउन आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने व्यवस्था नगरपालिकाले गरेकाे छ ।
निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्नवर्गले घर बनाउन सिफारिस लिएर आए निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरिएको उहाँले बताउनुभयो । वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरुले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौँ ।
कतिपय नागरिकले नक्सा बनाउन खर्च धेरै लाग्ने भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यता अन्त्य गर्न पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।