कांग्रेसमा ओलीप्रतिको जनमत बढ्दै, सुजातापछि गगन पनि प्रधानमन्त्री ओलीको पक्षमा
काठमाडौँ साउन १५ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रवादी काम गरेके भनी सबैतिर प्रशंसा भैरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पनि प्रशंसा गर्नुभएको छ । कांग्रेसकै केन्द्रीय सदस्य सुजाता कोइरालाले ओली सरकारको प्रशंसा गरेको भोलिपल्ट थापाले पनि त्यस्तो अभिव्यक्ति दिनुभएको हो । त्यति मात्र होइन उहाँले संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने धारणासमेत राख्नुभएको छ । खरिपाटीमा नेपाली कांग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली कांग्रेसको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा सांसद थापाले यस्तो अभिव्यक्ति दिएपछि कांग्रेस भित्र समेत हंगामा भएको छ । उहाँले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक भएको भनी सार्वजनिक रुपमा आफ्नो भनाई राख्नुभयो । तराई–मधेस केन्द्रित दललाई फकाउन कांग्रेस–माओवादी सक्रिय रहेका बेला बाहिर आएको उहाँको भनाई निकै अर्थपूर्ण छ ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको विभिन्न सम्झौता सही भएको भन्दै अब बन्ने सरकारले त्यसलाई कार्यान्वयन गर्नु पर्नेमा पनि जोड दिनुभयो । उहाँले नेपालले भारत र चीनसँग बराबरको सम्बन्ध राख्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीकै भाषामा नेपालले दुवै देशको हस्तक्षेप नसहने दबी गर्नुभयो । ‘नेपाल चीन र भारतको राजनीतिसँग खेल्दैन, नेपालको राजनीतिसँग पनि खेल्न दिदैनौँ,’ उहाँले भारतप्रति लक्षित गर्दै भन्नुभयो ।
उहाँले घुमौरो पाराले नयाँ बन्ने सरकारले चुनावलाई प्राथमिकता नदिएको हो कि भन्दै आगामी चैत अन्तिममा स्थानीय निर्वाचन र जेठमा प्रान्तको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जेठमा प्रान्तको निर्वाचन हुन नसके एकै पटक प्रान्त र केन्द्रको निर्वाचन गर्न सकिने बताउनु भयो । यस्तै भनाई प्रधानमन्त्री ओलीले शुक्रबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा पनि राख्नु भएको थियो ।