गाईजात्राको घिन्ताङघिसी नाच सुरु

भक्तपुर । गुठी संस्थान कार्यालय भक्तपुरले आज भक्तपुरमा गाईजात्राको घिन्ताङघिसी नाच प्रदर्शन गरेको छ ।

गुठी संस्थानको आर्थिक सहयोगमा भक्तपुरका बासिन्दाले ‘ताहमचा बिनाको घिन्ताङ घिसी’ नाच प्रदर्शन गरेपछि गाईजात्रा सुरु भएको मानिने संस्थान भक्तपुर कार्यालयका प्रमुख लेखनाथ सापकोटाले जानकारी दिनुभयो ।

भक्तपुरको दरबार क्षेत्रबाट सुरु भएको घिन्ताङघिसी नाच गाईजात्राको मार्ग अनुसार नगरको विभिन्न भागको परिक्रमा पछि साँझ सम्पन्न हुने भक्तपुर नगरपालिका लाकुलाछेँका कुमार चवालले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘परम्परादेखि नै जनैपूर्णिमाको दिन प्रदर्शन गरिने घिन्ताङघिसी नाच लक्षणको नाच हो भन्ने मान्यता छ । बूढापाकाले यो नाच हेर्नुपर्छ मान्यता रहेकाले पनि नाच हेर्न साँझसम्म टोलटोलमा स्थानीय बासिन्दा उभिएर बस्ने गर्छन् ।’

भक्तपुरमा कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्वको मुख्य दिन शुक्रबार बिहान ४ बजे भक्तपुर तलेजुस्थान अगाडिबाट कुखुरा नबास्दै ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गराएपछि मात्र दिवङ्गत आफन्तहरूले उनीहरुको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ ।

भक्तपुरको नेवार समुदायमा आफन्त गुमाएका परिवारबाट बिहानदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाउने परम्परा रहेको छ ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको टोलटोलबाट निकालिने घिन्ताङघिसी नाच, माक प्याखँ नाच भएकाले गाईजात्रा हेर्न उपत्यकालगायत विभिन्न क्षेत्रका मानिस यहाँ आउने गर्दछन् । जात्रा अवधिभर घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।

हिन्दू धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालिएपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको संस्कृतकर्मी रामशेखर श्रेष्ठले जानकारी दिनुभयो ।

गाईलाई नगर परिक्रमा गराइनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।

पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको ऐतिहासिक मान्यता रहेको छ ।

घरघरबाट गाईजात्रा निकालिएपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको छ । यद्यपि भक्तपुरका संस्कृतकर्मी भने गाईजात्रा पर्व विक्रमको १४ आंैँ शताब्दीभन्दा अगाडि लिच्छवी कालको अन्त्यमा सुरु भएको बताउँछन् ।

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको ताहामचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन रहिआएको छ ।

गाईजात्राको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको सस्कृतकर्मी श्रेष्ठको भनाइ छ । यस दिन पाप गरे मृत्युपछि पनि सोही कर्म भोग्नुपर्छ भन्ने विश्वासका आधारमा यस दिन कसैले पापकर्म गर्न नहुने भनाइ रहेको संस्कृतकर्मी श्रेष्ठ बताउनुहुन्छ ।

गाईजात्राका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रब्य दान गर्ने परम्परा रहेको छ ।

(रमेश गिरी)