धोबीखोला ‘करिडोर’ का पक्की संरचनामा पनि चल्यो डोजर

काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिकाले नदी किनारका अतिक्रमित क्षेत्र खाली गराउने अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा शनिबार महानगरपालिका–१० स्थित धोबीखोला करिडोरको देवीनगर क्षेत्रमा अवैध रूपमा बनाइएका पक्की भवन र घरटहरा भत्काउन सुरु गरिएको छ ।

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आज बिहानैदेखि डोजर परिचालन गरिएको हो । “उपत्यकाका बागमती र यसका सहायक नदी किनारामा रहेका अतिक्रमित बस्ती हटाउने दोस्रो चरणको अभियान अन्तर्गत आज धोबीखोला क्षेत्रमा डोजर चलाइएको हो,” जोशीले जानकारी दिनुभयो ।

यसअघि अस्थायी टहराहरू मात्र हटाइँदै आएकोमा अहिले भने पक्की भवनहरू नै भत्काउन थालिएको छ ।
सरकारले शुक्रबार मात्रै बल्खु र कालीमाटी क्षेत्रका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाएको थियो । महानगर प्रहरीको तथ्याङ्कअनुसार हालसम्म काठमाडौँ उपत्यकाभित्र सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमण गरी बनाइएका करिब दुई हजारभन्दा बढी घरटहरा र स्थायी संरचनाहरू हटाइसकिएको छ ।

बस्ती हटाउने क्रममा घरबारविहीन भएका प्रभावित परिवारहरूलाई महानगरले अस्थायी रूपमा ‘होल्डिङ सेन्टर’ मा पठाएको छ । यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा वास्तविक भूमिहीन परिवारहरूको पहिचानका लागि लगत सङ्कलन कार्य पनि भइरहेको छ ।